बालेन साहले हामीमाथि रावणको व्यवहार गर्नुभयो, राम बनेर हमला गर्छौँः कवाड व्यवसायी

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिकाकाे कार्यालय घेराउ गर्ने भएको छ।

काठमाडौँ महानगरले व्यवसायबाट विस्थापित गराउन खोजेको र दुःख दिएको भन्दै कवाड व्यवसायीहरुले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने बताएका हुन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले अब आफूहरु काठमाडौँ महानगरविरुद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा जान लागेको बताए। उनले काठमाडौँका मेयर बालेन साहलाई रावणको संज्ञा दिए।

‘लड्न, भिड्न र हामी लङ्का दहन गर्नलाई, अब लङ्काको रावणलाई आक्रमण गर्नलाई हामी आउँदो १४ गते काठमाडौँ महानगरपालिका कमलादी घेर्नेछौँ। काठमाडौँ महानगरपालिकाको मेयर बालेन साहले रावण बनेर हामीलाई व्यवहार गर्नुभयो। अब हामी राम बनेर हमला गर्नेछौँ, लङ्का दहन गर्नेछौँ,’ उनले भने।

साथै, काठमाडौँ महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइजती गरेको उनले बताए।

कवाड व्यवासायीहरुले अब महानगर प्रमुख बालेन र नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिनेपनि बताए।

अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए।

काठमाडौँ महानगरका प्रमुख साह धेरै सन्किएको र बहुलाइसकेको टिप्पणी गर्दै उनले अब जेल कोच्नुपर्ने बताए। बालेन देश र महानगरको लागि खतराको रुपमा देखिएको उनको टिप्पणी छ।

प्रकाशित मिति: : 2024-12-25 16:57:00

प्रतिकृया दिनुहोस्