राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा परेको छ।
लामिछानेसहित पाँच जनालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा उपस्थित गराइसकेको छ।
रविसहित पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराएको हाे।
सरकारी वकिलले पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर आइतबार मुद्दा दर्ता गरेको थियाे।
पाँच जनालाई बिगोअनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ।
लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएकाे छ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका उनलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।