थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

Break n Links
Break n Links

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ।

थुनछेक बहसका लागि लामिछानेलाई साेमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।

पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई पनि अदालत उपस्थित गराइएको छ।

अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि लामिछानेलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।

सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर आइतबार मुद्दा दर्ता गरेको थियाे।

पाँच जनालाई बिगोअनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ।

लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएकाे छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका उनलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

प्रकाशित मिति: : 2024-12-23 11:07:00

प्रतिकृया दिनुहोस्