नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भारत रिसाएको भन्ने आफूलाई नलागेको बताएका छन्।
सुदूरपश्चिमको धनगढीमा आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारत रिसाएको हो? भन्ने पत्रकारको जिज्ञासामा नेता कोइरालाले सत्ता साझेदारको दलका नाताले आफूलाई त्यस्तो नलागेको प्रतिक्रिया दिएका हुन्।
उनले कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने सरकारको आफ्नो निर्णय रहनेसमेत दाबी गरे।
के तपाई सभापति जित्न कन्फिडेन्स हुनुहुन्छ त? भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफू पन्ध्रौँ महाधिवेशनबाट सभापति जित्न शतप्रतिशत ढुक्क रहेको बताए।
नेता कोइरालाले देशको राजनीतिक अवस्था कमजाेर भएकाले यसलाई सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए।
यसैगरी महाधिवेशनमा सभापति शेरबहादुर देउवा र तपाईंको समूहबीच कुरा मिलेको हो त? भन्ने पत्रकारको प्रश्नमा कोइरालाले भने, 'देउवाजी सबैको आदरणीय हो, सभापति देउवाजीसँग निरन्तर छलफल र भेटघाट भइरहेको छ।'
साथै उनले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अघि बढाउन आफू पनि लागिपरेको जनाउँदै के प्रक्रियागत, के समस्याले काम अघि नबढेको भन्ने विषयमा चासो लिएका थिए।
३ दिनको सुदूरपश्चिम बसाई सकेर डा.कोइराला आज काठमाडौँ फर्किंदै छन।