कास्की प्रहरीले भन्याे- रविको तस्बिर सार्वजनिक गर्नेलाई कानुन बमोजिम कारबाही गर्छाैँ

Break n Links
Break n Links

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताएको छ।

कास्की प्रहरीका सूचना अधिकारी, डीएसपी वसन्तकुमार शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारवाही गरिने बताएकाे हाे।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साईबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ।

हाल चालू रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसूरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्नेगरी डा. निकोलस भुसालको फेसबुक पेजबाट तस्बिर प्रकाशित भएकाे प्रहरीले उल्लेख गरेकाे छ।

प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको कास्की प्रहरीले जनाएकाे छ।

गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन समेत कास्की प्रहरीले अनुरोध गरेकाे छ।

प्रकाशित मिति: : 2024-12-19 15:16:00

प्रतिकृया दिनुहोस्