रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ।

मंगलबार जिल्ला अदालत कास्कीको लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बिहान जिल्ला अदालतमा उपस्थित गराएको थियाे।

सहकारी ठगी प्रकरणमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे थियाे।

अनुसन्धान प्रतिवेदनमा प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कारबाही गर्न राय दिएकाे छ।

प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सरकारी वकिललाई दिइएको छ।

रविलाई सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा काठमाडौँ, चितवन, पर्सा र बुटवल बयानका लागि लगिएको थियो।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका उनलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

लामिछानेमाथि पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।

प्रकाशित मिति: : 2024-12-17 13:35:00

प्रतिकृया दिनुहोस्