मङ्गलबार, १९ मे २०२६

कर्णाली उत्सव ‘कुडा कर्णालीका’ सातौँ संस्करण सुरू

महेश चौलागाईं

महेश चौलागाईं

काठमाडाैँ
News Image
• • •

कर्णाली प्रदेशको भूगोल, संस्कृति र विकाससम्बन्धी बहसलाई केन्द्रमा राख्दै ‘कर्णाली उत्सव: कुडा कर्णालीका’ को सातौँ संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको छ। चैत २८ गतेदेखि प्रारम्भ भएको उत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

ऋति फाउन्डेसनको संयोजनमा विगत सात वर्षदेखि हुँदै आएको यो उत्सवले सकारात्मक सोचको प्रवर्द्धन गर्दै विचारमार्फत विकास सम्भव छ भन्ने सन्देश फैलाउने लक्ष्य राखेको छ। यसअघि प्रत्येक वर्ष फागुन ५–७ मा आयोजना हुँदै आएको कार्यक्रम यसपटक आम निर्वाचनका कारण चैतमा सारिएको हो।

उत्सवको पहिलो दिन ‘बाजा र धुन’ कार्यक्रमबाट सुरुवात गरिएको थियो। त्यसपछि उद्घाटन सत्रमा कर्णालीको वर्तमान अवस्था, अवसर र चुनौतीबारे व्यापक छलफल भयो। विभिन्न क्षेत्रका वक्ताहरूले कर्णालीको विकासका सम्भावना र समस्याहरू उजागर गरेका थिए भने ‘कर्णालीमा बैंकिङ पहुँच’ विषयमा विशेष प्रस्तुति पनि राखिएको थियो।

पहिलो दिन ‘सुशासन कर्णालीका’ शीर्षकमा प्रतिनिधिसभा सदस्यहरूबीच छलफल गरिएको थियो भने ‘जनजीवन: सडकदेखि संसदसम्म’ सत्रमा जनताको दैनिक जीवनसँग सम्बन्धित मुद्दाहरू उठाइएका थिए। साथै ‘शक्तिको सोपान: बोर्डदेखि विकाससम्म’ र ‘उद्यमशील समाज: उज्यालो अर्थतन्त्र’ जस्ता विषयमा समेत बहस भएको थियो। साँझतिर ‘पोलिसिङ कर्णाली’ र ‘कर्णाली कन्सर्ट: सुर्खे कर्णाली’ अन्तर्गत सांगीतिक प्रस्तुति आयोजना गरिएको थियो।

उत्सवको दोस्रो दिन ‘प्रतिरोधका पाइला’ विषयक विशेष प्रवचनबाट कार्यक्रम सुरु हुने छ। त्यसपछि ‘कनेक्टेड कर्णाली’, ‘शिक्षाको उकालो–ओरालो’ र ‘उद्यमको उडान’ जस्ता समसामयिक विषयमा छलफल गरिनेछ। ‘विकासको गोरेटो–प्रकृतिको ओत’ र ‘डटनेदेखि डटकमसम्म’ शीर्षकका सत्रहरू पनि सञ्चालन हुने कार्यक्रम रहेको छ।

अन्तिम दिन ‘कर्णाली कन्सर्ट: कविता साँझ’ विशेष आकर्षणका रूपमा रहनेछ, जहाँ विभिन्न कविहरूको प्रस्तुति रहनेछ। तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ मुख्य सत्रसहित १० सहायक सत्र आयोजना गरिनेछन्।

उत्सवमा कर्णालीमा जन्मिएर उदाहरणीय कार्य गरेका व्यक्तिहरूले आफ्ना संघर्ष र सफलताका कथा सुनाउनेछन्। ‘नारी नेतृत्वदेखि सिमान्त आवाजसम्म’ विभिन्न विषयमा बहस गरिनुका साथै आम निर्वाचन २०७९ पछि निर्वाचित जनप्रतिनिधिसँग संवाद, जेन–जी पुस्ताको सोच, ऊर्जा र प्रविधिको भूमिकालगायत विषयमा छलफल हुने जनाइएको छ।

उत्सवले कर्णाली क्षेत्रको समस्या, सम्भावना, कला–संस्कृति र जीवनशैलीबारे गहन बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र थप जानकारी आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!