राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बिहान जिल्ला अदालतमा उपस्थित गराएको हाे।
पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई पनि अदालतमा उपस्थित गराएको छ।
सहकारी ठगी प्रकरणमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे थियाे।
अनुसन्धान प्रतिवेदनमा प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कारबाही गर्न राय दिएकाे छ।
प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सरकारी वकिललाई दिइएको छ।
रविलाई सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा काठमाडौँ, चितवन, पर्सा र बुटवल बयानका लागि लगिएको थियो।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका उनलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।
लामिछानेमाथि पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।