नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सलाई काठमाडौँ गुर्खाजले एक विकेटले पराजित गरेको छ।
काठमाडौँ गुर्खाजले १८.१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको थियो।
काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। १४औं ओभरको तेस्रो बलमा अनिल खरेलको बलमा प्रतिक आउट भए। लगत्तै पहिलो बलका सामना गरिरहेका कप्तान करण केसीलाई पनि उनले नै बोल्ड आउट गरे।
राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे। राशिद विराटनगरका कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गराए। ओपनर माइकल लेभिट ६ बलमा १० रन बनाउँदै कप्तान सन्दीपकै बलमा आउट भए। अर्का ओपनर स्टेफन स्किनाजी १ रन बनाउँदै बसिर अहमदको बलमा आउट भए।
तल्लो क्रमका ब्याटर दिपेश कंडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए। जेहार्ड एरास्मस ७ बलमा १२ रन जोड्दै विराटनरका कप्तान सन्दीपको बलमा आउट भए। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २ लिए।
विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे। उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे। उनी २०औं ओभरको चौथो बलमा कप्तान करण केसीद्वारा आउट भए।
ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन जोडे। दिपक नवौं ओभरको अन्तिम बलमा दिपेश कंडेलको एलबिडब्लु सिकार हुन पुगे।स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए। बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए।
बसिरले १५औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए। त्यसपछिको बलमा साहब आलमविरुद्ध ठूलो सटको प्रयास गर्दा बाउन्ड्रीमा भीम सार्कीबाट क्याच आउट भए।
ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबिडब्लु सिकार भए। निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए। इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए।
काठमाडौँका लागि जेहार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए।
जितसँगै काठमाडौँले प्लेअफ सम्भावना कायमै गरेको छ। यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन्।
पराजित विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। यस संस्करणको अन्तिम खेल विराटनगरले हारका साथ प्रतियोगिता समाप्त गरेको छ।
यो खेल जितेसँगै काठमाडौँले प्लेअफ सम्भावना जीवित राख्न सफल भएको छ। काठमाडौँ ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको। ७ खेल खेलेको काठमाडौँले आजसहित चार जित निकालेको छ।