पाेर्चुगलमा रहेका नेपालीद्वारा राहदानी वितरणमा सहजीकरणका लागि सरकारसँग माग

फाइल तस्बिर
फाइल तस्बिर

पाेर्चुगलमा रहेका नेपाली नागरिकहरूले राहदानी वितरण प्रक्रियामा सहजता ल्याउन नेपाल सरकारलाई ज्ञापपत्र बुझाएका छन्। उनीहरुले परराष्ट्र मन्त्रालयमार्फत पेश गरिएको ज्ञापनपत्रमा पेरिसस्थित नेपाली राजदूतावासले राहदानी वितरणको जिम्मेवारी चुस्तरूपमा सम्हाल्न नसकेको र पाेर्चुगलमा वितरण शिविर सञ्चालन गर्नुपर्ने माग गरेका हुन्।

ज्ञापनपत्रमा पाेर्चुगलमा रहेका नेपालीहरूले नेपाल सरकारको प्रत्यक्ष सेवाबाट बञ्चित रहनुपरेको गुनासो गर्दै पेरिस दूतावासको जटिल प्रक्रियाका कारण नागरिकहरू दलालको फन्दामा पर्नुपरेको उल्लेख गरेका छन्।

ज्ञापनपत्रमा नेपाली समुदायका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यसमा प्रवासी नेपाली मंच, नेपाली आदिवासी जनजाति महासंघ, नेपाली प्रगतिशील मंचलगायतका संस्थाहरूको समन्वयमा राहदानी वितरणलाई सहज बनाउन सरकारसँग आग्रह गरिएको छ।

०४ नोभेम्बरमा आदिवासी जनजाति महासंघ, पाेर्चुगलको संयोजनमा बसेको बैठकले प्रवासी नेपाली मंचका अध्यक्ष दीपक खत्रीको नेतृत्वमा समन्वय तथा परामर्श समिति गठन गरेको जानकारी पनि ज्ञापन-पत्रमा उल्लेख छ।

पाेर्चुगलस्थित नेपाली समुदायले राहदानी वितरणलाई सहज बनाउन सरकारले पेरिस दूतावासबाट प्रतिनिधि खटाई, स्थलगत रूपमा सेवा प्रवाह गर्नुपर्ने माग राखेका छन्। ज्ञापनमा पाेर्चुगलका नेपाली संस्थाहरूले यस कार्यमा सकारात्मक भूमिका खेल्न तयार रहेको विश्वास दिलाइएको छ।

पाेर्चुगलमा बसोबास गर्ने नेपालीहरूले राहदानी वितरणको वर्तमान जटिलताले आर्थिक, भौतिक, र मानसिक रूपमा समस्या उत्पन्न गरेको गुनासो गर्दै यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित मिति: : 2024-12-05 21:58:00

प्रतिकृया दिनुहोस्