ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको केशर महल पुस्तकालयले नयाँ रुप पाएको छ।
पुस्तकालयको संरचना चिरिच्याट्ट र सुविधा सम्पन्न बन्दै गएको छ। पुनर्निर्माणले पूर्णता पाइसक्दा पुस्तकालय मुलुककै भव्य र सुविधा सम्पन्न बन्ने सम्भावना देखिएको छ।
२०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहल हस्तान्तरणको तयारीमा छ। आउँदो वैशाखसम्ममा हस्तान्तरण हुने बताइएको छ। नेपालका राणा प्रधानमन्त्री केशर शमशेर राणाद्वारा स्थापना गरिएको ऐतिहासिक पुस्तकालय पुनर्निर्माणको अन्तिम चरणमा पुगेको पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले जानकारी दिए।
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको पुस्तकालयको पुनर्निर्माणको सम्झौता २०८१ साल चैत मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ।
पुनर्निर्माणपछि पुस्तकालयमा ६५ हजार भन्दा बढी पुस्तकहरूमध्ये दुर्लभ हस्तलिखित ग्रन्थहरू र ऐतिहासिक दस्तावेजहरूको संग्रहलाई थप व्यवस्थित र सुरक्षित बनाउन प्रयास भइरहेको पुस्तकालय प्रमुख निरौलाले जानकारी दिए।
पठन संस्कृतिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै केशर पुस्तकालयले डिजिटल पुस्तकालय निर्माणका लागि काम अघि बढाएको छ।
नेपाल सरकार, एसियाली विकास बैंक, कोरियाली सरकार र युनेस्कोको सहयोगमा डिजिटल पुस्तकालयको योजना अघि सारिएको निरौलाको भनाई छ।
उनले भने, ‘हामीले विद्युतीय लाइब्रेरीको विकास गर्नेतर्फ योजना बनाएका छौँ। अर्थात, घरमै बसेर मोबाइल ल्यापटबाट पढ्ने वातावरण विकास गर्नपर्ने भएको छ। त्यसको प्रारम्भिक काम नेपाल सरकारले विशेषतः शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले डिजिटल लाइब्रेरीको प्रारम्भिक कामको खाका चाहिँ तयार गरेको छ।’
प्रमुख निरौलाका अनुसार डिजिटल परियोजनाअन्तर्गत महत्त्वपूर्ण पुस्तक तथा दस्तावेजहरूलाई डिजिटाइज गरेर सुरक्षित राख्ने योजना छ। करिब ६४ करोड लागतमा ६१ कोठामा भवनलाई पुनर्निर्माण गरिएको जनाइएको छ।
‘एसियाली विकास बैंकको प्राविधिक सहयोगमा, कोरियाली सरकारको आर्थिक अनुदान र युनेस्कोको पनि केही प्राविधिक सहयोगमा, केशर पुस्ताकलय, राष्ट्रिय पुस्ताकलय, डिल्लीरमण रेग्मी पुस्ताकलयमा रहेका महत्वपुर्ण पुस्तक तथा दस्तावेजहरुलाई डिजिटाइज गर्ने र डिजिटललाइज्ड गरिएका दस्तावेजहरुलाई डिजिटल लाइब्रेरीमा राख्ने संँगसँगै एउटा राष्ट्रिय विद्युतीय पुस्ताकलय बनाउने परियोजना सुरु भएको छ,’ निरौलाले भने।
पुनर्निर्माण गर्दा पुरातात्त्विक महत्वको केशर महलको मौलिकता जोगाउन सकेसम्म पुराना सामग्री र प्रविधिहरू प्रयोग गरिएको छ। तर, प्राविधिक समस्याहरूका कारण केही संरचनात्मक परिमार्जन गर्नुपरेको छ। जसमा काठको प्रयोग भएको ठाउँमा रड र जाली प्रयोग गरिएको छ।
प्रमुख निरौलाले भने, ‘पुराना काठहरु प्रयोग गर्न मिल्ने थिएनन्। त्यसमा हामीले नयाँ काठहरु थप्यौँ। फलामहरु थपिएको छ। रडहरु थपिएको छ। अरु त केही नयाँ प्रयोग छैन।’
भवनको रेट्रोफिटिङ गर्दा बुट्टा, सिलिङ, वास्तुकला, डिजाइन सबै पुरानै शैलीमा निर्माण गरिएको जनाइएको छ। मुख्य भवनलाई प्रबलीकरण गर्दा बगैँचा, चमेनागृह, सुरक्षाकर्मी भवन र पेभिलियन भने नयाँ निर्माण गरिएको छ।
केशरमहलमा ६१ वटा कोठा छन्। बगैँचामा इटालीबाट ल्याइएका आधुनिक बत्ती जडान गरिएको छ। २०७२ सालको भुकम्पले केशर महलमा क्षति पुर्याउँदा पुस्तकालय समेत बेहाल अवस्थामा पुगेको थियो।
केशर शमशेरले बेलायतको पुस्तकालय प्रणालीबाट प्रभावित भएर १९४९ मा केशर पुस्तकालय स्थापना गरेका थिए। पुस्तकालयमा ११५० वर्ष पुरानो हस्तलिखित ग्रन्थ सुश्रुतसंहिता समेत संग्रहित छ, जसलाई यूनेस्कोले २०१३ मा मेमोरी अफ द वर्ल्डमा दर्ता गरेको छ।
पुस्तकालयले आगामी दिनमा सेवा समय विस्तार गर्दै जाडोमा बिहान ९ देखि साँझ ५ बजेसम्म र गर्मीमा बिहान ९ देखि साँझ ६ बजेसम्म खुला गर्ने योजना बनाएको छ।