प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार औपचारिक भ्रमणका लागि चीन जाँदैछन्। 

चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चार दिने भ्रमणका लागि चीन जान लागेका हुन्। 

ओलीसँगै चीन जाने प्रतिनिधिमा ओली पत्नी राधिका शाक्यसहित ४४ जना रहेका छन्। बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत उक्त टोली चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।

यस्तै ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ।

प्रकाशित मिति: : 2024-12-02 07:13:00

प्रतिकृया दिनुहोस्