चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गाेपनियताकाे शपथ लिएका छन्।
आइतबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवलाई शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।