बलात्कार घटनाको अनुसन्धानमा प्रहरीको लापरवाही, अभियुक्त छुटाउन चलखेल

बलात्कार जस्तो जघन्य अपराधको घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चरम लापरवाही गरेको खुलेको छ।

गत कात्तिक २२ गते दर्ता भएको जबरजस्ती करणी घटनाको अनुसन्धानमा प्रहरीले शंकास्पद गतिविधि देखाएको पीडित पक्षले आरोप लगाएको हो।

पीडित पक्षका अनुसार गत कात्तिक १७ गते राति मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीका ३२ वर्षीय गंगाराम बास्कोटाले स्थानीय प्रजल देवानको सहयोगमा आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा एक युवतीले जाहेरी दिएकी थिइन्। लगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले अनुसन्धान सकेर मिशिल सरकारी वकिलमार्फत जिल्ला अदालत झापामा बुझाएको छ।

तर, अनुसन्धानका क्रममा संकलन गर्नुपर्ने प्रमाण संकलन नगरेको, पीडितलाई अभियुक्तसँगै एउटै गाडीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेर थप पीडा दिएको र घटनासँग सम्बन्धित सबैलाई कागज नगराई प्रहरीले मुद्दा कमजोर बनाएको बताइएको छ।

घटनापश्चात पीडित युवतीले आफूमाथि बास्कोटाले बलात्कार गरेको र त्यसका कारण शरिरका विभिन्न भागमा चोटसमेत लागेको बताएकी थिइन्। सोही कुरा उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी मिङबहादुर लामा र अन्य अनुसन्धान अधिकृतलाई समेत खुलाए पनि स्वास्थ्य परीक्षणको क्रममा प्रहरीले उक्त कुरा लुकाएको पीडितले बताएकी छन्।

उनले घटना घट्दा लगाएको कपडा आफूसँग सुरक्षित रहेको प्रहरीलाई जानकारी गराएपनि प्रमाणका लागि उक्त कपडा प्रहरीले जाँच नगरेको उनको भनाई छ। त्यस्तै जाहेरी दर्ता गरेलगत्तै आरोपी र पीडित दुवैलाई प्रहरी भ्यानको एकैठाउँ राखेर काँकडभिट्टाबाट मेची प्रादेशिक अस्पताल भद्रपुर लगेको पाइएको छ।

कानुनत बलात्कार जस्तो जघन्य अपराधको घटनामा पीडकबाट थप पीडा नदिन पीडितलाई उसको सम्पर्कमा नजाने व्यवस्था मिलाइएको हुन्छ। यसैगरी सबैभन्दा पहिले उनीमाथि बलात्कार भएको जानकारी प्राप्त गर्ने व्यक्तिलाई समेत प्रहरीले कागजै नगराई मुद्दा बुझाएको पाइएको छ। यसबाट प्रहरीकै मिलेमतोमा मुद्दा कमजोर बनाउन खोजिएको थप पुष्टि हुने पीडितका आफन्तले बताएका छन्।

उनीहरुले आफूहरुलाई प्रहरीले कागजै नगराई अदालतमा मुद्दा बुझाउने तयारी गरेको थाहा पाएर जिल्ला सरकारी वकिलको कार्यालयमा समेत जानकारी गराइएको भएपनि जिल्ला न्यायाधीवक्ताले सुनुवाइ नगरेको गुनासो गरेका छन्।

सबै जनाको मिलेमतोमा आरोपीलाई छुटाउने चलखेल भइरहेको उनीहरुले बताएका छन्। यस्तै आफूहरुलाई विभिन्न तरिकाले प्रलोभनमा पारेर मुद्दा कमजोर बनाउन लागिरहेको पनि उनीहरुको भनाई छ।

पीडकका परिवार र स्थानीय केही युवा अदालतमा समेत मुद्दा कमजोर बनाउन विभिन्न शक्तिकेन्द्र धाइरहेको पाइएको छ। जाहेरी दर्ता गर्न काँकडभिट्टा प्रहरीमा जाँदादेखि नै प्रहरीको व्यवहार पीडितमैत्री नभई पीडकमैत्री भएको आफूले महशुस गरेको पीडित युवतीले बताएकी छन्।

अनुसन्धानको क्रममा खुलेका गोप्य तथ्य समेत पीडक पक्षलाई जानकरी गराइएको र युवतीको मान प्रतिष्ठामा आँच आउने किसिमको गतिविधि प्रहरीबाटै भएको जानकारी आफूहरुले पनि पाएको उनका आफन्तको भनाई छ।

यसबारे प्रतिक्रिया लिन इप्रका काँकडभिट्टाका प्रमुख लामालाई पटक–पटक फोन सम्पर्क गर्दापनि फोन उठेन। प्रहरीले अनुसन्धान सकेको भन्दै गत कात्तिक १३ गते नै सरकारी वकिलमार्फत मुद्दाको मिशिल जिल्ला अदालत झापामा बुझाएको छ। १४ गते जिल्ला न्यायाधीश ऋतबहादुर पुलामी मगरको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ

प्रकाशित मिति: : 2024-12-01 10:56:00

प्रतिकृया दिनुहोस्