परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे कार्यतालिका सार्वजनिक गरेकाे छ।
शुक्रबार मन्त्रालयले भ्रमणकाे कार्यतालिका सार्वजनिक गरेकाे हाे।
यही मंसिर १७ गतेदेखि २० गते (डिसेम्बर २ देखि ५ तारिख)सम्म प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दैछन्। बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ओलीकाे चीन भ्रमण स्वीकृत गरेकाे थियाे।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्। समकक्षी ली छ्याङसँग पनि ओलीले पारस्परिक हितका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाअनुसार ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत रहेका छन्।