रविलाई काठमाडौँ ल्याइँदै, रास्वपाले समर्थकलाई भन्यो- गाडी लिएर विमानस्थलमा आउनुस्

File Photo
File Photo

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएकाे छ।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेकाे आरोपमा लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएकाे हाे।

उनलाई अहिले ५ः३० बजेको उडानमार्फत काठमाडौँ ल्याउन लागिएको लामिछानेका सहयोगी दीपक बोहोराले जानकारी दिए। साथै बोहोराले आफ्नो सवारी साधन लिएर विमानस्थल आउन समर्थकलाई आग्रह गरेका छन्।

‘रास्वपा सभापति रवि लामिछानेलाई अहिले ५:३० बजेकाे उडानबाट काठमाडौं ल्याइँदै छ। म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदैछु। मिलेसम्म आफ्नो सवारी साधन लिएर तपाईं पनि आउनुहोला’, बोहोराले सामाजिक सञ्जालमार्फत भनेका छन्।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

कालीमाटीकाे स्वर्णलक्ष्मी ठगी प्रकरणमा लामिछानेलगायतविरुद्ध ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेकाे तथा याे सहकारीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

याे सहकारी ठगीमा रविविरुद्ध पक्राउ पुर्जी जारीसमेत भइसकेको छ।

प्रकाशित मिति: : 2024-11-28 16:53:00

प्रतिकृया दिनुहोस्