उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारविरुद्ध मत जाहेर गर्ने अवसर हाे: प्रचण्ड

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

उनले बुधबार भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरेका हुन्।

‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ। नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, विसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु।’

उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ।’

अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गरे।

‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु।’

प्रकाशित मिति: : 2024-11-27 16:05:00

प्रतिकृया दिनुहोस्