मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले मंगलबार पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अधिकारीलाई मंगलबार अदालतमा पेश गरेकाे हाे।
एमाले काेशी प्रदेशसभा सदस्य अधिकारी मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा केही हप्ताअघि विराटनगरबाट पक्राउ परेका थिए।
अधिकारीमाथि गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै मन्त्रालयको नक्कली कागजात बनाएर तीन जनालाई लगेको आरोप छ।
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नलिइ जापान उडेका उनलाई जापानको अध्यागमनले विमानस्थलबाट फर्काइदिएको थियो।
त्यसपछि अधिकारीकाे चाैतर्फी विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बनसमेत गरिसकेकाे छ।
उनी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए।