राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाे दाबी गरेकाे छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापतिको हिरासत बसाई लम्ब्याउने प्रयास भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए।
उनले हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका छन्।
रास्वपाले लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउविरुद्ध र सहकारी पीडितलाई न्यायको मागसहित पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेकोप्रति भर्त्सना गरेकाे छ।
रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको र प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरेकाे रास्वपाले उल्लेख गरेकाे छ।
यस्ताे छ विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउ विरुद्ध र सहकारी पीडितलाई न्यायको माग सहित कास्कीको पोखरामा हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेकोप्रति घोर भर्त्सना गर्दछौं । रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो ।
संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौं ।
साथै, आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र क्यामरा लगायतका सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर निन्दा गर्दछौं ।
आज अपरान्ह ४ बजे मानवअधिकार चोक, पोखरा लगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम यथावत् रहनेछ ।
मनिष झा
प्रवक्ता (कार्यवाहक)