राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सत्तारुढ दलका त्यस्तै आरोप लागेकाहरूमाथि पनि छानबिन हुनुपर्ने माग उठिरहेको छ।
सहकारी ठगीमा नेपाली काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल पनि मुछिएका छन्। पोखरेल नेकपा एमालेका सांसद हुन् र अहिले लेखा समितिको सभापति पनि हुन्। गुरुङ नेपाली काँग्रेसका उपसभापति हुन्।
पोखरेलमाथि उनकी पत्नी अञ्जला कोइराला सञ्चालक रहेको मोरङ धनपालथान गाउँपालिका– ४ कर्सियास्थित उमा गौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको आरोप छ। गुरुङ पनि श्रीमतिसँगै जोडिएका छन्।
ललितपुरको महालक्ष्मीस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा रहेकी धनराजपत्नी ज्योती गुरुङसहित ५ जनाले करिब १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ। यद्यपि धनराज गुरुङले पटक पटक ज्योतीसँग अदालतबाटै सम्बन्ध विच्छेद भइसकेको दाबी गर्दै आएका छन्। पोखरेलले पनि आफूमाथिको आरोप नियोजित भनेर अस्वीकार गर्दै आएका छन्।
तर दुई साताअघि रवि लामिछाने पक्राउ परेपछि उनकै पार्टी र सत्तारुढ दलभित्रै पनि गुरुङ तथा पोखरेललगायतका नेताहरूमाथि लागेको आरोप छानबिन गर्न दबाव बढेको छ। प्रतिपक्ष नेकपा माओवादी केन्द्रले पनि त्यसका लागि सरकारलाई दबाव दिइरहेको छ। शनिबार काठमाडौंमा आयोजित एउटा विरोधसभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ पार्टीका आरोपीहरूमाथि छानबिन गर्न सरकारलाई चेतावनी दिएका थिए।
‘त्यही काण्डमा मुछिएका काँग्रेसका उपसभापतिलाई कारबाही गर्नुनपर्ने, एमालेका मान्छेलाई छानबिनै नहुने’ उनले भनेका थिए ‘अनि प्रतिपक्ष दलका नेताहरूलाई छानिछानी जेल हाल्ने?’
सत्तारुढ दलभित्रै पनि त्यसबारे आवाज उठिरहेको छ। यद्यपि आधिकारिकरुपमा सत्ता साझेदार नेकपा एमाले र नेपाली काँग्रेस भने यसबारे औपचारिकरुपमा बोलेका छैनन्।
धनराजलाई कारबाही होला?
सत्ता साझेदार नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गुरुङ र पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारलाई भनेका छन्।
सोमबार एउटा औपचारिक कार्यक्रममा बोल्दै उनले अनुसन्धानको दायरामा ल्याएर दोषी भए कारबाहीका लागि नेपाली काँग्रेस कहिल्यै बाधक नबन्ने दाबी गरे।
‘सहकारीका अपचलन गर्ने सयौँ छन्। ती मान्छेमध्ये ५-६ सय मान्छे अभियोजनको क्रममा छन्। अरू ५-७ सय मान्छे फरार छन्। ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याऊ। त्यो नयाँ होस् कि पुरानो होस कि, त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि, रुखको छायामुनि बसिराखेको होस्। सबैलाई अनुसन्धानमा ल्याऊ’ उनले भनेका छन् ‘छानबिन समितिमा बकाइँदा त्यही भन्छ। त्यसैले हामी भनिरहेका छौँ सरकारलाई यी सबै विषयहरूका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस्।’
उनले दाषी देखिएकाहरू जोकोहीलाई पनि कठघरामा ल्याउनुपर्ने भन्दै कानुनभन्दा माथि कोही नभएको र नेपाली काँग्रेसले कसैलाई पनि जोगाउन नचाहेको उनले प्रस्ट पारे।
‘नेपाली काँग्रेसको एक जना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो। थप अनुसन्धान गर्नुपर्छ। मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु, बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ। नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो। गर्नुस् अनुसन्धान। अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस्। दण्ड पनि दिनुस्’ उनले भने ‘यो देशमा के स्थापित गर्नुपर्ने छ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–काँग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठुलो होस्, सानो होस्, शक्तिशाली मानिस होस्। पाँच पटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि। जो सुकै होस, कानुनभन्दा माथि कोही छैन। न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ। राज्यको अरू निकायले स्थापित गराउन सक्नुपर्छ।’