जिग्मेकाे ‘अमरभूमि’ पुस्तक लाेकार्पण, आम्दानीकाे आधा रकम हुम्लाकाे स्वास्थ्य क्षेत्रमा लगानी गरिने

हिमाली अन्वेषक, समाजसेवी एवम् साहित्यकार नरबहादुर लामा (जिग्मे)काे ‘अमरभूमि’ पुस्तक काठमाडौँमा लोकापर्ण गरिएको छ। ‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका ग्रामीण विकास अभियन्ता लामाको यात्रानुभूति सँगालिएको यस पुस्तकमा आन्तरिक र बाह्य दुवै खाले सुखको चर्चा गरिएको छ।

प्रकाशक बुक्स हिमालयले शनिबार आयोजना गरेको कार्यक्रममार्फत कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, बौद्ध दर्शनका विद्धान मिलन शाक्य, साहित्य पोस्ट डटकमका सम्पादक अश्वीनी कोइराला, खेन्पो कर्मा राग्पे, लेखक जिग्मे र प्रकाशक पवन शाक्यले पुस्तक लोकापर्ण गरे।

उनीहरूले अध्येता जिग्मेको आध्यात्मीक यात्रा संस्मरण पढ्नेहरूको चेतनाको द्धार खुल्ने चर्चा गरे। हिमाली जीवनशैली, बौद्ध दर्शन र कर्णालीको भूगोल बुझन् जिग्मेको पुस्तक आँखीझ्याल बनेको टिप्पणी गरिएकाे छ।

पुस्तक लोकापर्ण गर्ने अतिथिहरूका साथै शिक्षक धनबहादुर लामा र लेखक जगबहादुर बुढाले पनि पुस्तकको प्रशंसा गरे। यो पुस्तकको अंग्रेजी संस्करण निकाल्नुपर्ने सुझाव उनीहरुकाे छ।

हुम्लाको सिमकोट गाउँपालिका– ३, लिमाटाङ जन्मेहुर्केका ४७ वर्ष जिग्मे पर्यटन व्यवसायी हुन्। यो पुस्तक सन १९९०को दशकको कर्णाली क्षेत्रको सामाजिक, आर्थिक परिवर्तनहरूको पृष्ठभूमिबाट सुरु हुन्छ।  त्यसै सिलसिला यात्राका पात्रहरूले ८औं शताब्दीमा भविष्यवाणी भई पुनः हराएको कुनै सुखमय भूमि, बेयुल वा शाम्बाला यात्राका अवशेषहरू भेटाउन पुग्छन। एक गोप्यभूमि अनि गुमनाम यात्रीहरू जो हराउँदै इतिहास, अनि कथा भइसकेका थिए, त्यही दिगो शुख र शुद्ध भूमिको खोजलाई पच्छ्याउँदाको यात्रा वृतान्त हो, अमरभूमि।

प्रारम्भिक अध्यायहरूमा लेखकले हुम्ला र कैलाश क्षेत्रको भूगोल यात्रा पहिल्याउँदै, समाजमा विकास र समृद्धिको समाधान खोज्दै हिँडेका छन्। पछिल्ला अध्यायहरूमा चिन्तनमा गहिरिँदै विगत, वर्तमानका सिद्धहरू, तिनको उपदेश, यात्रा वृतान्तहरू पहिल्याउँदै बाह्य संसार र भित्री चेतनाको सम्बन्ध, नालिवेलीहरू केलाएका छन्। भूगोल, इतिहास, आध्यात्मिकताको यो सगोल यात्रा अघि वढाउँदै निखारिएको दृष्टिमा सुखी समाज र शुद्ध भूमि वा नयाँ परिवेशमा वेयुल, शाम्बाला, सांंग्रिलाको द्वार खोल्ने प्रयास गरेका छन्।

‘अमरभूमि’ हिमालय क्षेत्रको विशेष भूगोल, विविधता, समृद्ध चिन्तन परम्पराको चित्रण अनि दिगो सुख, सम्वृद्धिको विशेष यात्रा वृतान्त हो। वास्तविक अनुभव, अनुभुतिहरूमा आधारित वृतान्त जसले पुरातन ज्ञान र समसामयिक चुनौतिहरूलाई एकसाथ बुन्ने साहस गरेको छ। साथै स्वहित र परहित, विगत र वर्तमान बीचको पुल बन्ने साहस गरेको छ।

ललितपुरको बुक्स हिमालयले प्रकाशन गरेको पुस्तकको मूल्य ७ सय रुपैयाँ राखिएको छ। पुस्तकको बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत गृहजिल्ला हुम्लाको स्वास्थ्य क्षेत्रमा लगानी गरिने लामाले बताएका छन्।

प्रकाशित मिति: : 2024-10-21 09:44:00

प्रतिकृया दिनुहोस्