हङकङमा ‘गाउँ आएको बाटो’काे विशेष प्रदर्शन हुँदै

फाइल तस्बिर
फाइल तस्बिर

हङकङमा नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ २० अक्टोबरमा गोल्डेन सिन सिनेमामा विशेष प्रदर्शन हुँदैछ। हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको हो।

शनिबार नेपालबाट निर्देशक सुब्बासहित अभिनेत्री पशुपति राई, बाल-कलाकार प्रसन राई, मिङ्सो लिम्बू प्रदर्शनमा सहभागी हुन हङकङ जाँदै छन्। चलचित्रका निर्माता अमोद राई एक साताअघि नै हङकङ पुगिसकेका छन्।

निर्देशक नवीन सुब्बाले नेपाली फिल्म चिनियाँ दर्शकलाई लक्षित गरी पहिलोपटक सार्वजनिक प्रदर्शन गर्न लागिएको बताए। ‘हङकङको नेपाली समुदायमा अक्टोबर २०मा गाउँ आएको बाटो चिनियाँ दर्शकमाझ प्रदर्शनको तयारी भएको छ। त्यसपछि छिट्टै थाइल्यान्ड, इन्डोनेसिया, इटाली र युकेमा प्रदर्शनमा आउँदैछ’, उनले भने।

निर्माता राईले प्रदर्शनका लागि चलचित्रलाई चिनियाँ सबटाइटलमा तयार गरिसकेको बताए। निर्माता राईले हङकङका नेपाली समुदायलाई फिल्म हेर्न आउन आग्रह गर्दै भने, ‘गाउँ आएको बाटोलाई गोल्डेन सिन सिनेमाकै हलमा प्रदर्शन गर्न लागेका छौँ। यो चलचित्र हङकङवासीका लागि विशेष छ। हङकङका नेपाली समुदायले हेरेपछि मात्रै नेपाली फिल्मलाई यहाँको बक्स अफिसमा पहिलोपटक देखाउन सघाउ पुग्नेछ। त्यसैले हङकङमा रहेका नेपाली समुदायले हेर्न जरुरी छ। चिनियाँ बजारमा पुग्न गाउँ आएको बाटोले इतिहास बनाउनेमा हामी ढुक्क छौँ।’

हङकङमा रहेका कार्यकारी निर्माता देवराज राईले आफूहरूले गाउँ आएको बाटोलाई धेरै घेराहरू भत्काउँदै यहाँसम्म ल्याउन सफल भएको बताए। उनले भने, ‘गाउँ आएको बाटो समयमा हङकङ आएन भनेर धेरै गुनासो आएको थियो। नेपाली फिल्मलाई यहाँको समुदायसम्म पुर्‍याउने अठोटले अलि ढिलो भए पनि धेरै घेराहरूलाई भत्काउँदै अगाडि बढ्ने ठुलो आत्मबल र सोहीअनुरूपको प्रयास गरेका थियौँ।’

नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रमा संलग्न भएर काम गरेका छन्। चलचित्र सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेका छन्। चलचित्रको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदीप राई, रामली राई, सुमन बाेनेम, मायादेवी राईलगायत रहेका छन्।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ। फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो। चलचित्रको छायांकन अमेरिकी छायाकार जोस हेरमले गरेका हुन्।

प्रकाशित मिति: : 2024-10-19 14:15:00

प्रतिकृया दिनुहोस्