गौशाला धर्मशाला विवाद: ‘बालेन गुण्डा-नाइकेजस्ता भए’

Break n Links
Break n Links

हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले काठमाडौं महानगरका प्रमुख बालेन शाहले ‘गुण्डा शैली’ देखाएको आरोप लगाएका छन्।

मारवाडी समुदायबाट गौशाला धर्मशाला खोस्नका लागि पशुपति विकास कोषसँग मिलेर बालेनले ‘गुण्डा’ नाइकेको भूमिका खेलेको उनको भनाइ छ।

‘बाहिरबाट घटना सामान्य देखिन्छ तर भित्र हेर्दा यो ठुले षड्यन्त्र हो’, उनले भने, ‘कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद छ। मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली ‘गुण्डा नाइकेले’जस्तो देखियो। मारवाडी सेवा समितिले आज गरेको एउटा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।

धर्मशालाको व्यवस्थापनको जिम्मेवारी खोसिएपछि आजै मारवाडी सेवा समितिले विभिन्न सरोकारवालाहरू बोलाएर छलफल गरेको थियो।

छलफल कार्यक्रममा काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका थिए।

हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदायमाथि मात्रै नभई हिन्दूहरुको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको आरोप लगाएका छन्।

विश्वभरिबाट आउने हिन्दू श्रद्धालुहरुको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गौ पालन हुँदै गरेको र झण्डै एक सय जना मृगौला रोगी को निःशुल्क डाइलेसिस भई रहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौताविपरित महानगरपालिकालाई संचालनको जिम्मा दिएकोप्रति उनीहरुको आरोप छ।

कार्यक्रममा उपस्थित पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दू धर्ममा आस्था राख्नेमाथि षडयन्त्रको एउटा सानो शुरुआत भएको बताए।

पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरुको भर्ती केन्द्र बनेको पराजुलिको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरुले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए।

यस कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरुले मारवाड़ी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघलगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरु थिए। 

पशुपति विकास कोषले गौसालास्थित धर्मशाला मारवाडी समुदायबाट खोसेर काठमाडौं महानगरलाई जिम्मा लगाएपछि अहिले त्यो निर्णय विवादमा परेको छ। 

त्यसबारे आजै कोषले पत्रकार सम्मेलन गरेर मारवाडी समुदायले पशुपतिको जग्गामाथि आँखा लगाउन थालेको आरोप लगाएको छ। आजै काठमाडौं महानगरले त्यहाँका लागि सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा निवेदन पनि दिएको छ।

सर्वोच्च अदालतको एउटा फैसलापछि कोषले महानगरलाई गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिएको थियो। अघिल्लो साता सम्झौता भएअनुसार महानगरको ब्यानर टाँस्न गएका महानगरका प्रहरीमाथि त्यहाँ धर्ना बसेका मारवाडी समुदायका व्यक्तिले अवरोध गरेका थिए।

यसअघि स्थापना कालदेखि नै निकै कम भाडादरमा मारवाडी सेवा समितिले उक्त धर्माशालाको सञ्चालन गर्दै आएको थियो। लामो समयदेखि धर्मशाला सञ्चालन गर्दै समितिले उक्त जमिनमा आफ्नो ‘मोहीयानी’ हकदाबी पनि गरेको थियो। तर अदालतले मारवाडीको उक्त मागमा दाबी नपुग्ने भन्दै फैसला सुनाएपछि कोषले मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गर्दै महानगरलाई जिम्मेवारी दिएको हो। यो निर्णयसँगै अहिले त्रिपक्षीय विवाद झन् बढेको छ।

प्रकाशित मिति: : 2024-10-15 16:32:00

प्रतिकृया दिनुहोस्