खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

आज (मंगलबार)देखि बडा दसैँको सार्वजनिक बिदा सकिएको छ।

बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन्। बडादसैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन्।

सरकारले दसैँ मनाउन पाँच दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ। भने, उपत्यकामा सवारी आवागमन बढेका छन्। यस वर्षको दसैँमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए।

तर, आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम जारी रहेको हो। मान्यजन टाढा-टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्।

आफन्त टाढा हुनेका लागि बडा दसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो। महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ।

प्रकाशित मिति: : 2024-10-15 12:30:00

प्रतिकृया दिनुहोस्