अर्थतन्त्र सुधारका लागि आयोग गठन, काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु (भिडियो)

मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो।

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो।

०००

सरकारले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो। 

पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा पाँच सदस्यीय सुझाव आयोग गठन गरिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा.कल्पना खनाल रहेका छन्।

०००

बजार अनुगमनका क्रममा सरकारी टोली माथि असहयोग तथा अभद्र व्यवहार गर्ने व्यवसायीहरूलाई प्रशासनले कार्वाही गर्ने चेतावनी दिएको छ।

आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए। 

०००

धवलागिरी हिमाल आरोहणका क्रममा हराएका पाँचजना विदेशी आरोही मृत फेला परेका छन्। आइतबार बिहानदेखि उनीहरू सम्पर्कबिहीन थिए। 

आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका अनुसार उनीहरू सबै रसियन नागरिक थिए। उनीहरूलाई खोज्न परिचालित हेलिकोप्टरमार्फत सबैजना मृत फेला परेका हुन्। 

०००

नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ। 

बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो। संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ।

०००

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन्। 

असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो।

हाल वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।

०००

नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो। 

महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ। डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन्।

०००

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई ‘आर्टिफिसल न्युरल नेटवर्कमार्फत् मेसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभुत खोज तथा आविस्कार गरेकाले’ पुरस्कार दिने निर्णय गरिएको नोबेल कमिटिले मंगलबार जनाएको छ ।

होपफिल्ड अमेरिकाको प्रिन्स्टन युनिभर्सिटीमा आणविक जीवविज्ञाका प्राध्यापक हुन्। युनिभर्सिटी अफ टोरन्टोमा कम्प्यूटर विषयका प्राध्यापक हिल्टनले एआईमा विद्याबारिधि गरेका छन्। 

०००

पशुपतिको गौशाला धर्मशाला अब काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भएको छ। 

लामो समयदेखि मारवाडी सेवा समिति नेपालले भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशाला व्यवस्थापनकाे जिम्मा पशुपति विकास कोषले महानगरलाई दिने भएको हो।

आइतबार पशुपति विकास कोष सञ्चालक परिषद्‍ बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न पाउने निर्णय गरेपछि सोही दिन कोषले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झौताका लागि पत्राचार गरेको थियो।

भिडियो– 

प्रकाशित मिति: : 2024-10-08 19:10:00

प्रतिकृया दिनुहोस्