‘विश्वभर दसैँको विधि एउटै हो तर तिथि फरक पर्छ’

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ। विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दसैँ मान्छन्। सबैले परम्परा अंगालेका छन्। देशअनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो। तोकिएको साइतमा टीका लगाउने परम्परा छ।


प्राध्यापक डाक्टर देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन्। उनी वाल्मिकी क्याम्पसमा धर्मशास्त्र विभागमा कार्यरत छन्। त्यसका अलावा उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्यसमेत हुन्। हिन्दुहरुको महान पर्व वडादसैँका सन्दर्भमा कुराकानी गरिएको छ।

प्रस्तुत छ, भट्टराईसँग गरिएकाे कुराकानीकाे अंश:

चैते दसैँ र वडा दसैँमा के भिन्नता छ? 

खासमा दसैँ चार वटा हुन्छन्। एउटा आश्विनमा मनाइने वडादसैँ, त्यसैगरी चैते दसैँ, अर्को माघ शुक्लदेखि दशमीसम्म र अर्को आषाढ शुक्लदेखि दशमीसम्म गरेर चारवटा दसैँ हुन्छन्। यी चारवटा दसैँको महत्व उत्तिकै छ।

विशेष गरेर नेपालको सन्दर्भमा विजयको सुरुवातको रुपमा असोजको दसैँलाई मुख्य रुपमा लिने प्रचलन छ। यसमा भागवान राम पनि विजयको लागि यही समयमा हिँड्नु भएकाले पौराणिक कथाहरु पनि यसमा जोडिएको छ। अन्य देवी देवताका धार्मिक पक्षहरु पनि यसमा जोडिएकाले बर्षका चारवटा दसैँ मध्ये असोजको दसैँलाईं वडादशैँ मानिएको हो।

वडादसैँलाई विजयको प्रतिक पनि मानिन्छ, त्यसो किन भनिएको हो?

पौराणिक कथाहरु अनुसार राम कुनै समय वनबास जानुभएको थियो।  विजया दशमीका दिनमा नै उहाँ प्रस्थान गर्नुभएको थियो। यसलाई एउटा विजयीको प्रतिक मानियो। अर्को कुरा, देवीको आरधना गर्न वातावरणदेखि प्रकृतिका दृष्टिले पनि यतिबेलाको मौसम अनुकुल भएकाले यसको पृथक महत्व छ।

यद्यपी यस वर्षको अवस्था प्रतिकुल भयो। मौसमले गर्दा प्राकृतिक अवस्था राम्रो भएन। तर सामान्यतया यतिबेला घामपानी जस्ता सबै कुराले उचित समय हो। वैज्ञानिक र प्राकृतिक हिसाबले पनि दसैँको विशेष महत्व छ।

दसैँ भनेपछि दश दिनसम्म पूजापाठ गर्ने गरिन्छ। दश दिनसम्म के के हुन्छ?

दसैँका दश दिनको भिन्नाभिनै महत्व छ। प्रत्येक दिनको पौराणिक र धार्मिक विविध कारणहरु छन। तर नवरात्रको विशेष महत्व छ। नौ दिनसम्म उपवास गर्ने, पहिलो दिन जमरा राख्ने अनि नौ दिनसम्म क्रमशः यसको पूजा गर्ने प्रचलन छ।

प्रत्येक दिनका पूजा र विधिहरु फरक छन्। घटस्थापनाको दिनमा शुभ साइतमा जमरा राख्छौँ। त्यसलाई दशमीको दिनमा विसर्जन गर्छौँ। दश दिनभित्र विशेष कार्य गर्नुपर्ने भएकाले सबै दिन विशेष महत्वका छन्।

विश्वभर हिन्दुहरुको संख्या फैलिएकोछ। दसैँ मान्ने परम्परा वा तरिका ठाँउ अनुसार फरक हुन्छ कि एउटै हो?

देशअनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो। जस्तै घटस्थापनाको लागि अश्विन शुक्ल प्रतिपदा चाहियो, त्यो कहिले पर्छ तिथि हेरिन्छ। अष्ट्रेलियामा यसपालि दसैँको साइत यहाँ भएको दिनको भोलिपल्ट छ। किनभने दशमी तिथिको प्रवेश भोलिपल्ट मात्र भयो। तिथिलाई एकदमै विशिष्ट मानिएको हुन्छ। बार, गते होइन तिथिलाई विशेष मानिएको हुन्छ।

नेपालको सन्दर्भमा हिन्दुहरुभित्रै पनि विभिन्न जातजातिहरु छन्। उनीहरुले दसैँलाई फरक फरक तरिकाले मनाउने गर्छन्। कसैले सेतो टीका, कसैले रातो टीका लगाउँछन्। यस्तो भिन्नता किन?

टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ। जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ। उहाँहरुले प्रकृतिबाट लिने भनेको सेतो हो। सेतो दही हुन्छ, अक्षता हुन्छ। दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नुभएको छैन। 
अर्कोतिर रातो भनेको विजयको प्रतिक भएको हुनाले रातो टीका लगाइन्छ।

दसैँ भनेको व्यक्ति, गाउँ, घर वा समाजको नभइ राष्ट्रको हो। त्यसकारण राष्ट्रले विजय प्राप्त गरेको दिनलाई पनि जोडिन्छ। हामीले त्यही भएर रातो लगाउँछौ तर सेतो टीका लगाउनु पनि अनुचित होइन। दशैँबाट एक खालको उर्जा प्राप्त गर्ने हो। वर्ष दिनसम्म पैसा जोगाएर, खेतीपातीबाट विश्राम लिएर मनाउने हो। दसैँमा नौ दिनमा उर्जा प्राप्त गरेर बलशाली भएर अगाडि बढ्ने हो।

नेपाल र भारतमा बस्ने हिन्दुहरु एउटै हुन्। तर उनीहरुले मनाउने र नेपालमा मनाइने दसैँमा केही फरक छ? भारतमा किन दशहरा पूजा गरिएको?

हामीले एउटा के गौरव गर्नुपर्छ भने अहिलेसम्म कसैको पराधिन भएनौं। हाम्रा धर्म, संस्कार, संस्कृतिहरु जे पूर्वदेखि आएका परम्परालाई डोहोर्याइरहेका छौँ। यो अहिलेसम्म पनि जीवन्त छ। जस्तो सगरमाथाको उचाइ छ त्यसैगरि धर्म परम्परा पनि जीवित नै छन्। यसकारण मानिसहरु यहाँ रिचार्ज हुन आउने गर्छन्। नेपालमा त्यस्तो शान्त र नयाँ उर्जा दिने ठाँउहरु छन्।

भारतमा रहेको परम्परा अंग्रेजको शासन भन्दा पहिला जस्तो रहन सकेको छैन। तर नेपालमा अझै परम्परा कायम छ र यसकारण नेपालमा विजया दशमीका दिन टीका लगाउने जस्तो परम्परा कतै छैन। यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य हो।

हाम्रोमा विभिन्न खालको रथ यात्राहरु हुन्छन्, कुमारी पूजा हुन्छ। यस्तो खालको विशिष्ट परम्परा देशमा अझै जीवन्त छ। अन्य देशमा यो लुप्त हुदैँ गएको छ। राजसिंहासन नै छाडेर कुमारीको पूजा गर्ने चलन छ। विश्वमा सनातन धर्मको मर्म लुप्त हुँदै गएका छन्। त्यसकारण भएको संस्कृतीलाई जीवन्त राख्नुपर्छ। जीवन्त राख्न सक्यौँ भने पक्कै पनि उचाई प्राप्त गर्न सक्छौ र यसको अनुशरण सबैले गर्न सक्छन्। दसैँ सबैको हो, यो पर्व समावेशी छ।

हुन त विश्वभर सनातन हिन्दुहरुले दसैँको पूजा गर्ने प्रचलन उस्तै हो। नवदुर्गाको स्थापना, जमरा राख्ने कुरामा कुनै कमी छैन। पहिलो दिन, दोस्रो, तेस्रो, चौथो, पाचौँ दिन गर्ने पूजाहरुको कुराहरु उस्तै हुन्। छैठौँँ दिन बेललाई निमन्त्रणा गर्नुपर्छ। सातौँ दिन फूलपाती भित्राउने कुराहरु सबैतिर होलान् तर हाम्रोमा शासन व्यवस्थाले केही परिवर्तन भयो होला तर विधि उस्तै हो। गोरखा दरबारको पूजा, हनुमान ढोकाको पूजालगायत अन्य पूजा गर्ने परम्परा अन्यत्र कतै छैन।

भारत र बेलायतमा गोर्खा सैनिक व्यारेकभित्र दसैँ मनाउने चलन छ। यसबारे हजुरलाई केही जानकारी छ?

जहाँ जहाँ नेपाली पुगेका हुन्छन्, त्यहाँ दसैँ मनाउने चलन छ। विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु छन् उनीहरु दसैँ मान्छन्। उनीहरु सबैले परम्परा अंगालेका छन्।

भारतले पनि गोर्खाली सेनाहरुले जे काम गर्छन्, त्यसलाई सम्मानका साथ लाग्ने खर्च सरकारले दिएर राखेको छ। यसरी नै बेलायतमा पनि नेपालीहरु पुगेको हुनाले हाम्रो परम्पराको र धर्म संस्कृतिलाई ती देशहरुले सम्मान गरेका छन्। आफ्नो परम्परा नछोड्ने मानिसलाई जहाँ पनि मानिदो रहेछ भन्ने पनि यसले सन्देश दिन्छ।

हिन्दु धर्म शास्त्रभित्र बलि प्रथालाई कुन रुपमा व्याख्या गरिएको छ?

धर्मशास्त्रले के भन्छ भने यदी तिमी मासु खादैनौ भने बलि नदेउ। बाहुनहरुले बलि दिने विधा नै छैन। तथापी बलि परम्परादेखि नै चलि आएको छ। यज्ञका लागि पशुहरुको दृष्टि गरिएको हो। वास्तवमा काम, लोभ, मोहको बलि दिनु पर्ने हो तर त्यो कुरालाई त्याग्नका लागि प्रतिकको रुपमा पशु बलि दिने चलन छ।

नेपालको परम्परामा यो कुराहरु दसैँबाट भिन्न गर्न सक्दैनौँ। यो चलिरहेको परम्परा हो। नखानेले नदिने ठिक छ, यसको विशिष्ट परम्परा रहेको हुनाले यसलाई छोड्नभन्दा कसरी गर्ने त्यसबारे सोच्नुपर्छ। व्यवस्थित गर्न सक्नुपर्छ।

नेपालमा विभिन्न धर्म मान्ने समुदायहरु छन्। बौद्ध धर्मावलम्वीहरुले पनि दसैँ मान्छन। हिन्दु र वुद्धिष्टहरुको दसैँमा के भिन्नता छ?

त्यस्तो धेरै भिन्नता छैन। उनीहरु पनि साइतमै सबै कर्म गर्छन्। जति पनि मानिसले दसैँ मनाउनुहुन्छ, मनाउनेहरुले त्यो दसैँको साइत नै पर्खिनु हुन्छ। यो सबैले त्यहीअनुसार मनाउने गर्छन् भनेपछि यो त राष्ट्रव्यापी पर्व हो।

दसैँका प्रत्येक दिनको पृथक महत्व छ। तर घटस्थापना र फूलपातीको किन बढी चर्चा हुन्छ?

घटस्थापना भनेको के हो भने दियो, कलश, गणेशको पूजा गरेर घडामाथि एउटा थाली राखेर देवीको यन्त्र लेखेर त्यसमा देवीलाई स्थापना गर्ने हो। घटस्थापना भनेको घडाको र देवीको स्थापना हो।

यो क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौँ दिनसम्म यस्तै विधिअनुसार कर्म गरिन्छ। छैठौँ दिनमा विशेष के हुन्छ भने त्यो दिन भगवती दुर्गाको पूजाको लागि आवश्यक पर्ने सामग्रीमा बेलपत्रहरु राखिन्छ। त्यसका निमन्त्रण छैठौँ दिनमा गरिन्छ। बेलपत्रको रुखमा गएर निमन्त्रणा गर्नुपर्छ। फूलपातीका दिन त्यहाँबाट त्यो बेलका पातहरु टिपेर, फलहरु टिपेर ल्याएर पूजा कोठामा राख्छौ। फूलपातीको दिन पूजा गरेर घर घुमेर सम्भव भएसम्म भित्राउने हो।

किनभने त्यो पत्रहरुमा पनि देवीहरुको बास हुन्छ। नौ खालका फूलहरु र बेलका फलहरु ल्याउनुपर्छ। भोलिपल्ट अष्टमीका दिन पहिलादेखि दुर्गासँगै नौ वटी देवीको पूजा गर्छौ। केराको पात चामलको थुप्रो लगाउने पूजा गर्ने अनि त्यहाँ चढाइएको प्रसाद टीका लगाउँदा प्रयोग गर्छौँ। नवमीको दिन पहिला थापेको देवी र नौ वटा कन्यालाई पूजा गर्ने र खुवाउने गरिन्छ। त्यसपछि मान्यजनको हातबाट टीका लगाउँछौँ।

पितृहरुको सम्मान गरिसकेपछि जीवितहरुको सम्मान दसैँमा गर्ने हो। अरुबेला गरेपनि दसैँमा विशेष रुपमा सम्मान गर्ने चलन छ। उहाँहरुको आशिर्वाद लिने चलन छ। 

प्रकाशित मिति: : 2024-10-07 12:41:00

प्रतिकृया दिनुहोस्