कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौँ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन्।

सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरुसंगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोहीअनुसारको तयारी गर्न नेता एवम कार्यकर्ताहरुलाई आग्रहसमेत गरे।

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो। त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दशै तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा.कोइरालाले भने।

कांग्रेसमा पैसा नहुनेहरुले निर्वाचनमा टिकट पाउँदैनन भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औँ महाधिवेशन पर्खनुपर्ने बताए।

‘१५औँ महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ। इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनको भनाइ थियो।

सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थितिलगायतका विषयमा छलफल भएको जानकारी दिए।

सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु सरिता प्रसाईं, प्रकाश स्नेही, सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए।

प्रकाशित मिति: : 2024-10-07 11:43:00

प्रतिकृया दिनुहोस्