पार्टी नेतृत्वको कार्यशैलीले तोकिएको समयमा महाधिवेशन हुनेमा शंका छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ संगठनहरुको अधिवेशन समयमै सम्पन्न गरेर पार्टीको महाधिवेशन गर्न दबाब बढाउन आग्रह गरेका छन्।

आइतबार बिहान नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुलाई बधाई दिँदै भ्रातृ संगठनहरुको अधिवेशन तत्काल गरेर समयमै पार्टीको महाधिवेशन गराउन दबाब बढाउन आग्रह गरेका हुन्।

‘पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५औँ महाधिवेशन हुनेमा शंका पैदा भएको छ। तर भ्रातृ संगठनहरुले आफ्नो अधिवेशनहरु समयमै सम्पन्न गरेर पार्टी नेतृत्वलाई दबाब बढाउनुपर्छ। यसका लागि सबैजना एकजुट भएर लाग्नुहोला,’ डा.कोइरालाले भने।

त्यस्तै उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै राजनीतिक दलहरुसँग गठबन्धन नगरी चुनाव लड्ने भएकाले सबै कार्यकर्ताहरुले गाउँ गाउँमा पुगेर सोही अनुसारको तयारी थाल्न पनि आग्रह गरे।

विहानको भेटमा केन्द्रीय सदस्य गोविन्दराज पोख्रेल, संघीय सांसद राजेन्द्र बजगाँई, रसुवाका पूर्व पार्टी सभापति बालचन्द्र पौडेल, सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्र थापा, दलित संघ केन्द्रीय अध्यक्ष लोकबहादुर विकलगायत सहभागी थिए।

प्रकाशित मिति: : 2024-10-06 15:36:00

प्रतिकृया दिनुहोस्