बाढीपहिराे आएकाे ९ दिनपछि बेथानचोकमा स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन्।

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए।

मन्त्री पौडेलले उपचाररत बिरामीहरुसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे।

परिवारका सात जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे। जवाफमा तामाङले भने, ‘उपचार त राम्रो पाइरहेको छु। पैसा तिर्नु पनि परेन। तर, परिवारका कोही बचेनन् बस्ने घर पनि छैन। सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो।’

जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए।

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे।

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धिकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए।

पनौती- १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धिकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए।

प्रकाशित मिति: : 2024-10-06 07:33:00

प्रतिकृया दिनुहोस्