आजदेखि ठूला मालबाहक सवारी साधनहरू काठमाडौं प्रवेशमा रोक लगाइएको छ। बाढीपछि क्षतिग्रस्त राजमार्गहरूमा सवारी चाप कम गर्नका लागि यातायात व्यवस्था विभागले यसअघि नै ठूला सवारीहरू चलाउन निषेध गरिसकेको थियो।
गत असोज ११ र १२ गते भएको घनघोर वर्षासँगै देशभरिका सबै जसो राजमार्ग र सहायक मार्गहरू क्षतिग्रस्त भएका छन्। नेपाल प्रहरीका अनुसार अहिले पनि ११ मुख्य सडकका विभिन्न ३० भन्दा धेरै खण्डहरूमा सवारी आवागमन हुन सकेको छैन। बाँकीमा भने एकतर्फीरुपमा सवारी चलाउन मिल्नेगरी मर्मत गरिएको छ।
सरकारले नै दसैंअघि पृथ्वी र बिपी राजमार्ग सञ्चालनमा ल्याउन नसकिने बताइसकेको छ। बिपी राजमार्गका लागि अर्को बैकल्पिक मार्ग तयार गरिएको छ। तर त्यहाँ पनि सवारी चाप बढेको छ। वर्दिवासबाट काठमाडौं आइपुग्नै त्यो बाटोबाट ४ सय किलोमिटरजति यात्रा गर्नुपर्ने भएको छ।
बिपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन्।
काठमाडौंबाट बा यात्रुको चाप बढेसँगै राजमार्गमा सवारी जाम नहोस् भनेर स्थानीय प्रशासनहरूले विभिन्न सडकखण्डहरूमा ठूला र मालबाहक सवारीहरू रोकिसकेका छन्।
विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेसँगै स्थानीय प्रशासनले आजदेखि ती सवारी रोकेको हो।
घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो। यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो। औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म राजधानी आउन पाउने छैनन्।