एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुनाउँछौ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताएका छन्।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन्।

उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौं। मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ। एकताको र मोर्चाको अभियानमा लागिरहेका छौं। सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति, योजना र कार्यक्रम गर्नेछ।’

उनले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने पनि बताए।

‘थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं। भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ। यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ,’ उनले भने।

उनले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए।

बिरोधीहरुले सधैं षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने उनको भनाइ थियो।

‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो। अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं। संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिनेजस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं। अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाईं विद्यार्थीहरु तयार हुनुहोला,’ उनले भने

प्रकाशित मिति: : 2024-09-26 18:19:00

प्रतिकृया दिनुहोस्