नेपालमा पहिलोपटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

बलुन नेपाल प्रा.लि.को आयोजनामा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा पौंष ९ देखि माघ १ सम्म हुने फेस्टिभलको सम्पूर्ण तयारी भएसकेको जानकारी दिएको हो।

नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले बलुन फेस्टिभल आयोजना गर्न लागेको अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा राखेको पनि उनले जानकारी दिए।

उनले भने, ‘नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आयामी शिष्टमस र अंग्रेजी नयाँ वर्षको अबसरमा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुन लागेको जानकारी गराउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ।’

आयोजकका अनुसार फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइने छ। फेस्टिभल अवधिभर हरेक दिन विहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेनुनको उडान गर्नेछन्।

एक सातासम्म चल्ने महोत्सबमा करिब पांचसय व्यावसायिक उडान हुनेछन्। जसमा करिव तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ। महोत्सवमा करिब तीनसय वटा गैर व्यावसायिक उडान हुनेछ।

फेस्टिभलका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ। उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ। फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुने अनुमान आयोजकले गरेको छ।

सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरन्जनात्मक पर्यटकीय गतिविधि पनि गरिनेछ। फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2024-09-19 17:32:00

प्रतिकृया दिनुहोस्