शिक्षकको माग गर्दै सरकारविरुद्ध सडकमा उत्रिए मधेसका विद्यार्थी (भिडियाे)

आम जनता पार्टी (आजपा)निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ।

मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आज राष्ट्रिय शिक्षा दिवस सरकारले मनाउँदै गर्दा मधेसका विद्यार्थीहरु भने शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन्।

वीरगञ्ज, सर्लाही र गौरमा आम विद्यार्थी मोर्चाले प्रदर्शन गरेको हाे। आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगञ्जमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो। प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ।

विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष साहले बताएका छन्। मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए।

‘हामीले सरकारलाई पटक पटक यसको बारेमा ध्यानाकर्षण गरायौँ। मधेसको शिक्षाको विकासका लागि सरकारले केही गर्न मान्दैन। विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै हामीले सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिन बाध्य भएका छौं’, विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने।

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोध भएको आराप उनीहरुले लगाए।

प्रधानमन्त्री, शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरुले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्नसमेत गरेका छन्। सरकारलाई पटक पटक आग्रह गर्दा समेत विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप आन्दोलनकारीको छ।

‘प्रधानमन्त्री, शिक्षामन्त्रीले आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा ठुल्लाठुल्ला कुरा गर्दै शुभकामना दिएका छन्। हामीलाई उहाँहरुको शुभकामना भन्दा पनि शिक्षकको व्यवस्था गरिदिए आभारी हुन्थ्यौं’ विद्यार्थी मोर्चाका इन्चार्ज कुशवाहाले भने, ‘उहाँहरुको शुभकामनाले विद्यार्थीको भविष्य उज्जवल हुँदैन, विद्यार्थीको अनुपातमा हामी शिक्षकको व्यवस्था गर्छौ, कतै पनि शिक्षकको अभाव हुन दिदैनौँ भनेर भनेको भए र सोहीअनुसार शिक्षकको व्यवस्था गरेको भए हामीले आज राष्ट्रिय शिक्षा दिवसकै दिन आन्दोलन गर्नुपर्दैन्थ्यो।’

विद्यार्थी मोर्चाले मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ।

आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ। मधेसमा कार्तिक ५ गतेदेखि शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ। 

प्रकाशित मिति: : 2024-09-18 14:46:00

प्रतिकृया दिनुहोस्