बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशील छ: मन्त्री सुडी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशील रहेको बताएका छन्।

शनिबार राष्ट्रिय बाल दिवस २०८१को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन्।

‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन्। यिनिहरुको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र सुनिश्चित भविष्यको आधारशिला तयार गर्छ। बालबालिकाको शिक्षा,स्वास्थ्य क्षेत्रमा भएका लगानी र बाल संरक्षणका विविध सवालहरुलाई सम्बोधन गर्न आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले लिएको नीति र बजेट व्यवस्थाले समेत प्रस्ट पारेकोमा वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्तै संवेदनशिल छ भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने, ‘सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून,नीति योजना तथा कार्यक्रमहरु मार्फत बालबालिकको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएको भएतापनि थप लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको छ।’

साथै उनले बालबालिकको संरक्षणका लागि धेरै समस्या र चुनौतिहरुको सामना गर्नु परेको बताए। उनले बालबालिकाविरुद्ध हिंसा, बालयौन दुव्र्यवहार, बालश्रम, बालविवाह लगायत अन्य समस्याहरुलाई उन्मुलन गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2024-09-14 12:59:00

प्रतिकृया दिनुहोस्