नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन्।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले जनयुद्धलाई अपमान गर्ने कोशिस भइरहेको भन्दै अर्को संघर्ष गर्नुपर्ने आवश्यकता आइपरेको बताए।
माओवादी आन्दोलन र क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको भन्दै क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।
०००
आतंकवादी गतिविधिमा लागेको भन्दै डिसपी हेमबहादुर शाहीमाथि छानबिन
आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआइएस) को गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारीसँगै ३ जनामाथि छानबिन सुरु भएको छ।
नेपाल प्रहरीका बहालवाला डिएसपी हेमबहादुर शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र दिपेन्द्रबहादुर शाहमाथि छानबिन सुरु भएको हो। डिएसपी शाही पनि कालिकोटकै हुन्।
महेन्द्रजंग लामो समयदेखि दुबई र मलेसिया बस्दै आएका छन्। उनीमाथि सिंगापुर प्रहरीले आतंकवादी संगठनमा आवद्ध भएको आरोप लगाएको छ।
महेन्द्रसँग डिएसपी शाही र दिपेन्द्रको सम्बन्ध देखिएपछि उनीहरूको विवरण माग्दै अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीलाई पत्र पठाएको छ।
सोही आधारमा तीन जनामाथि अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी गराएको छ।
०००
पहिरोले श्रीमान–श्रीमतीको मृत्यु
अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटमा श्रीमान–श्रीमतीको ज्यान गएको छ।
जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ धुमामा पहिरोले घर परिँदा ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारीको ज्यान गएको हो।
उनीहरू सुतिरहेको समयमा आइतबार बिहान साढे २ बजे पहिरो आएको थियो। पहिरोमा परी ११ वर्षीया छोरी सम्झना घाइते भएकी छिन्। उनको सुर्खेतमा उपचार भइरहेको छ।
०००
काठमाडौँका नदी किनारका स्थानीय अदालतको फैसलाविरुद्ध सडकमा
काठमाडौँ नदी किनार आसपासका स्थानीयले सर्वोच्च अदालतविरुद्ध प्रदर्शन गरेका छन्। नदी किनार आसपासमा थप २० मिटरसम्म कुनै संरचना गराउन नपाइने आदेश गरेपछि स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।
अदालतको फैसला गैर न्यायीक भएको स्थानीयको भनाइ छ। आइतबार गोकर्णेश्वर नगरपालिकाका स्थानीयले जोरपाटीमा प्रदर्शन गरे। यसअघि ललितपुर, काठमाडौँका स्थानीयले प्रदर्शन गरेका थिए।
यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भने नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर नभत्कने जानकारी गराएका छन्।
आइतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले कुनै घर नभत्काइने यदि भत्काउनु परे मुआब्जा दिइने पनि जानकारी गराएका छन्।
०००
माओवादी उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन पुगे
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि चीन गएका छन्।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित उनी थप उपचारका लागि आइतबार दिउँसाे एअर चाइनाको सिए–४३८ उडानमार्फत् पत्नी ओनसरी घर्तीमगरसँगै चीन गएकाे पुनको सचिवालयले जनाएकाे छ।
पुनले यसअघि चीनकाे सेन्चन शहरस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए। एक दशकदेखि माओवादी नेता पुनको उपचार गरिरहेका पेट तथा कलेजो रोग विशेषज्ञका अनुसार उनमा देखिएकाे जण्डिस आनुवंशिक र जन्मजात हो।
०००
पोखरा महानगरका इन्जिनियर जेल चलान
घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर भएका छन्। दोषी ठहर भएसँगै इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायाले जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद भुक्तान गर्नुपर्ने भएको छ।
यस्तै घुस दिन सघाउने सुरज कुँवर पनि दोषी ठहर भएका छन्। उनले ८७ हजार ५ सय जरिवाना र ४ महिना कैद भुक्तान गर्नुपर्ने भएको छ।
उनीहरूले घरको नक्सा पास गर्ने भन्दै २ लाख रुपैयाँ घुस रकम लिएका थिए। पछि फेरि थप डेढ लाख रुपैयाँ घुस लिने क्रममा उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गएको चैतमा पक्राउ गरेको थियो।
शुक्रबार विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जरिवाना र जेल सजाय सुनाएको हो।