फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

मृतकमा ६ जना बच्चा र एक गर्भवती महिलासमेत रहेका छन्। स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन्।

फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको छ।

दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। डुङ्गा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बीबीसीले समाचार खेलेको छ। डुङ्गामा आठ जनाभन्दा कम मानिसहरूले मात्र लाइफ ज्याकेट लगाएका थिए।

यस वर्षको इंग्लिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना हो। मंगलबारको घटनासम्म, २०२४ मा च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए। जुन २०२१ पछि सबैभन्दा बढी हो।

युएनको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, २०२१ मा ४५ जनाको मृत्यु भएको थियो।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले फ्रान्सेली अधिकारीहरूले साना डुङ्गा प्रयोग रोकिएको बताएका छन्। तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुङ्गामा ७० जना भन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन्।

इंग्लिश च्यानलमा साना डुङ्गामार्फत खतरनाक यात्रा गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ। २०१८ देखि १३५,००० भन्दा बढी मानिसहरूले यस मार्गमार्फत यूकेमा प्रवेश गरेका छन्।

यस वर्ष २१,००० भन्दा बढी मानिसहरूले च्यानल पार गरेको पनि बीबीसीले जनाएको छ।

– एजेन्सी

प्रकाशित मिति: : 2024-09-04 09:05:00

प्रतिकृया दिनुहोस्