बाँकेको नरैनापुरमा झाडापखालाको प्रकोफ सुरु भएको छ। नरैनापुर गाउँपालिका वडा नं ३ गेगली गाउँमा आइतबार एकै दिन चारजनाको झाडापखालाबाट ज्यान गएको छ।
वडाअध्यक्ष अजयकुमार मिश्राका अनुसार शनिबार रातिदेखि केही मानिसमा झाडापखाला देखिएको थियो।
स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा २५ वर्षीया रुसा पासी र उनकी डेढ वर्षीया छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी तथा स्थानीय सखावत अलिका १० वर्षीय छोरा यूसुफको मृत्यु झाडापाखाकै कारण मृत्यु भएको छ।
उनका अनुसार गाउँका अरु १० जनाजति बिरामीको उपचार भइरहेको छ। आइतबारदेखि नै गाउँमा थप स्वास्थ्यकर्मीहरू बोलाएर गाउँलेको उपचार भइरहेको उनले बताए।
यो भारतको सिमानासँग जोडिएको गाउँ हो। यहाँका मानिस अधिकांशले चापाकलको पानी पिउँछन्। बर्खायामको समय भएका कारण कुनै खानेकुरा वा दुषित पानी पिउनाले पनि झाडा पखाला फैलिएको हुनसक्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार साहले बताए।
उनका अनुसार अहिले उपचार भइरहेका केही बिरामीहरूको अवस्था सामान्य देखिएको छ। गाउँमा अरु परिवारहरूमा पनि केही मानिस बिरामी भएको खबर आएको छ। अहिले गाउँमा दशजना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए।
‘जसको मृत्यु भएको भन्ने छ उहाँहरू स्वास्थ्यचौकी नै पुग्न सक्नुभएन। हामीलाई खबर भएपछि हामी घरघरै पुगेका थियौं’ उनले भने ‘स्वास्थ्यचौकीमा आएका बिरामीको उपचार भइरहेको छ र उहाँहरू ठीकै हुनुहुन्छ। अरु केही घरमा हामी बिरामी भएको खबरपछि हामीले स्वास्थ्यकर्मी पठाएका छौं।’
उनका अनुसार झाडा पखाला फैलिनुको कारणबारे तथ्य पत्ता लगाउनका लागि अहिले परीक्षणहरू सुरु गरिएको छ।