काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बाल-हिंसा गरेकाे भन्दै पक्राउ गर्न भनेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले आफूबाट कुनै गल्ती नभएकाे दाबी गरेकी छन्।
मेयर बालेनले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शर्मालाई पक्राउ नगरेकाे भन्दै आपत्ति जनाएपछि बिएल नेपाली सेवाकाे सम्पर्कमा आएकी शर्माले यस्ताे बताएकी हुन।
शर्माले भनिन्, ‘मैले ती नानीलाई उनकाे परिवारकाे सल्लाहमा काठमाडाैँ लगेर २ कक्षादेखि ७ कक्षासम्म पढाएँ। मैले उनलाई उनकाे रहरअनुसार पढाउनका लागि नै काठमाडाैँ लगेकी हुँ। मैले उनलाई न कुटपिट गरेकी छु, न गाली गरेकाे छु, कसरी भयाे शाेषण।’
उनले याे मुद्दा पहिला नै अदालतबाट टुंगिएकाे दाबी गरिन। अदालतकाे आदेशमा आफूले शाेषण गरिएकाे भनेर कहीँ पनि उल्लेख नभएकाे र अहिलेसम्म प्रहरीले पक्राउबारे केही पनि नभनेकाे उनकाे भनाइ छ।
सांसद शर्माले यस विषयमा कुराकानीकाे लागि मेयर बालेनसँग पटक-पटक भेटकाे लागि आग्रह गर्दा पनि बालेनले बेवास्ता गरेकाे गुनासाे गरिन।
‘म चार/पाँच पटक याे विषयमा कुरा गर्न बालेनकाेमा गएकाे हाे तर उनले भेट्न मानेनन्’, शर्माले भनिन्, ‘मलाई बालेनसँग भेटेर सम्झाउन मन छ। उनी किन यसरी लागेका छन् मैले बुझेकी छैन म त उनकाे दिदीजस्ताे हाे, उनी पनि जनप्रतिनिधि हुन्। उनले के गर्न खाेजेका हुन्, मैले केही बुझेकी छैन।’
उनले प्रधानमन्त्री ओलीलाई गाली गर्न आफूलाई प्रयाेग गरिएकाे भन्दै आपत्ति जनाइन्।
सांसद शर्माले बालशाेषणा गरेकी भनिएकी बालिका अहिले काठमाडाैँ महानगरकाे संरक्षणमा छिन्। उनलाई महानगरले गत जेठमा शर्माकाे घरबाट उद्दार गरेकाे थियाे। उद्दारपछि बालिकाका बुबाले शर्माविरुद्ध मुद्दा दायर गरेका थिए।