चियामै भविष्य देखेका युवा भन्छन- सरकारको सहयोग पाए विदेश जानु पर्दैन

Break n Links
Break n Links

पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको बजारीकरण र प्रवर्द्धनमा सरोकारवालाहरुले साथ दिए स्वदेशमै आत्मनिर्भर हुन सकिने युवा चिया उद्यमीहरुले बताएका छन्।

काठमाडौं ठमेलमा रहेको छाया सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरुले चियाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले विदेशिनु नपर्ने बताएका हुन्।

टी स्टेसन इन्कका अध्यक्ष एवम चिया उद्यमी प्रज्वल प्रधानले नेपालको चियालाई नेपालकै बजारमा विस्तार गर्न र चियालाई संस्कृतिका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउँदै विश्व बजारमा नेपाली अर्थोडक्स चियालाई चिनाउन स्वदेशमै भब्य प्रदर्शनीहरु गर्नुपर्ने बताए।

‘हाम्रो अर्थोडक्स चिया विदेशमा त निर्यात भइरहेको छ तर स्वदेशकै पारखीहरुलाई पनि स्वादमा अभ्यस्त गराउन जरुरी छ। वास्तवमा अर्थोडक्स चियालाई नेपालीहरु बुझ्न नसकेको हो कि जस्तो लाग्छ। तर, हामी युवाहरुको समूह चिया संस्कृतिको विकास एवम् यसलाई व्यवसायका रुपमा अंगालेर स्वदेशमै केही गर्ने प्रयासमा छौं,’ उनले भने।

विश्व बजारमा नेपाली चियाको माग बढिरहेको भएपनि स्वदेशमा बजारीकरण नभएकाले समस्या भइरहेको टी स्टेसन इन्ककी कोषाध्यक्ष एव उद्यमी उषा योल्मू सुब्बाको धारणा छ।

‘गुणस्तरीय उत्पादन गरेको खण्डमा विश्वले नेपाली अर्थोडक्स चियालाई एकदमै रुचाएको छ। जसका कारण हामीजस्ता सयौं युवाहरुका लागि चिया उद्योग एक आत्मनिर्भर पेसाका रुपमा विकसित भइरहेको छ। तर, सरकारले पर्याप्त ध्यान नदिँदा स्वदेशमै बिक्री गर्न समस्या भइरहेको छ,’ उनले भनिन्।

चिया विज्ञ एवम् प्राविधिक सोनाम पाल्जोर लामाले अर्थोडक्स चिया पहाडी जिल्लाको गहना भएकाले यसको बजारीकरणमा ध्यान दिनुपर्ने बताए। चिया पेय पदार्थ मात्र नभइ नेपाली समाजको संस्कार र संस्कृति पनि भएकाले स्वदेशमै यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय युवाहरुको आकर्षण चिया क्षेत्रमा देखिने गरेको उनले बताए।

‘धेरै युवा साथीहरुले चिया उद्योगमा लगानी गर्नुभएको छ। चिया प्राविधिक र बजार व्यवस्थापकमा आफूलाई अब्बल सावित गर्दै लैजानुभएको छ। यसका लागि प्रोत्साहन जरुरी छ, सरकार एवम निजी क्षेत्रले यसका बारेमा गम्भीर बन्नैपर्छ,’ लामाले भने।

चिया विज्ञ एवम् उद्यमी डा. नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुसी व्यक्त गर्दै अक्सनका कारण नेपाल र अन्तरर्राष्ट्रिय बजारमा ठूलो फड्को मार्ने बताए। जसका कारण युवाहरुलाई स्वदेशमै बस्न र चियामै आत्मनिर्भर हुन प्रोत्साहन मिलेको उनको भनाइ छ।

‘नेपालमा दुई करोड ६० लाख किलो वार्षिक चिया उत्पादन हुन्छ। जापानमा मुलाको अक्सन हुन्छ तर नेपालमा चिया रोपण भएको डेढसय वर्ष नाघिसक्यो। किसानस्तरमा गएको ४० वर्ष नाघिसक्यो। अर्थोडक्सकै कुरा गर्ने हो भने ५०–६० लाख किलो उत्पादन भइरहँदा पनि अक्सन नै छैन, मोनोपोली रूपमा व्यापार भइरहेको छ। यसमा राज्यले सोच्नुपर्छ र किसान एवम उद्यमीलाई प्रोत्साहित गर्नसक्नुपर्छ,’ उनले भने।

अन्तरर्राष्ट्रिय बजारमा नेपाली चिया गुणस्तरीय रहेको औंल्याउँदै चिनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने उनको बुझाइ छ। ‘वायरको मोनोपोलीकै आधारमा नेपाली चिया बिक्री गरिनुरहनुपरेको छ। अक्सनमार्फत टी टेस्टिङ गराएर वायरहरुलाई ल्याएर प्रतिस्पर्धा गराउन सकियो भने नेपाली चियाले उचाइ लिनेछ,’ डा गुरुङले भने। गुरुङले अक्सन मार्केटलाई अघि लैजान निजी र सरकार दुवैले सहकार्य गर्नुपर्ने सुझाव दिए।

नेपालमा उत्पादित चियालाई ग्रीन, उलङ र ब्ल्याक गरी तीन किसिमले वर्गीकरण गरिँदै आएको छ। यसमध्ये अर्थोडक्स भन्नाले सामान्यतया परम्परागत तवरले पुरानै प्रविधिबाट उत्पादन हुने भन्ने बुझ्न गरिएपनि हिजोआज आधुनिक मेसिनबाट प्रशोधन गरिँदै आएको छ।

नेपालले वर्षमा करिब तीन करोड किलोग्राम चिया उत्पादन गर्ने गरेको छ। त्यसमध्ये दुई करोड किलोग्राम उत्पादन सीटीसी चियाको छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्ष एक करोड ६५ लाख किलोग्राम चिया विदेश निर्यात गरेको थियो, जसबापत करिब चार अर्ब राजस्व आम्दानी गरेको थियो।

नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ भने अर्थोडक्स चियाको करिब ९० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ। १५ हजारभन्दा धेरै कृषकले अर्थोडक्स चिया उत्पादन गर्ने गरेका छन्।

तर, अक्सन (लिलाम)मार्फत चिया बिक्री गर्ने विधि, प्रक्रिया र केन्द्रको अभावमा नेपाली उत्पादन भारतमा निर्भर हुने गरेको छ। सरकारले आ.व. ०७१/७२मा अक्सन सेन्टर बनाउने भन्दै बजेट वक्तव्यमार्फत कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमअन्तर्गत अक्सन कमिटी निर्माण तथा आवश्यक पूर्वाधारसमेत तयार भएका थिए । तर, सरकारले अक्सन सेन्टर सञ्चालन गर्ने निर्णय नगरेपछि अहिलेसम्म चियाको अक्सन सेन्टर सञ्चालनमा आउन सकेको छैन्।

नेपालमा साना, ठुला र मझौला गरी करिब एकसय २० वटा कारखाना संचालनमा छन्।

प्रकाशित मिति: : 2024-08-31 13:23:00

प्रतिकृया दिनुहोस्