लगभग एक महिना अघिको कुरा हो, मित्रहरू मिलन मगर र भिमसेन ठकुरी मकहाँ आउनु भयो। अनि एउटा नयाँ गन्तब्यका लागि प्रस्ताव गर्नुभयो। धेरैको नजर नपुगेको त्यो ‘भर्जिन’ गन्तब्यका लागि सुरुमा त अलमल नै भयो। तर त्यसको प्रचार प्रसार पनि हुन्छ भनेपछि मनमा त्यहाँ पुग्ने एक किसिमको हुटहुटी पलायो।
साउन ३० गते हाम्रो यात्रा तय भयो र सुरुवात पनि।
पर्यटन क्षेत्र आफैंमा चुनौति र सम्भावना उत्तिकै हुन्छ। जहाँ सम्भावना हुन्छ त्यहाँ त्यत्तिकै चुनौति पनि हुन्छन्। उसै पनि मध्यमनसुनको समय थियो। मनसुनभरि धेरै वर्षा हुने र उत्तिकै जोखिम हुने प्रक्षेपण भइरहेका थिए। अलिकति खर्च पनि हुने भएकाले केही साथीहरूले यात्रा अस्विकार पनि गर्नुभयो।
साउन २९ गते सबै जना साथीहरु जम्मा भयौं र सबै सरसामान प्याक गर्यौं। ३० गते बिहान हामीले सामानहरू गाडीमा लोड गर्यौं। त्यो जिपले हामीलाई तकसेरासम्म छोड्नसक्थ्यो। उत्तरगंगा नदी उर्लिरहेको थियो। जीपले पार गर्ने अवस्था थिएन। हामी झोलुङ्गे पुल तरेर नदीपारिबाट अर्को गाडी लिएर मयाङ्गसम्म पुग्यौं। त्यहाँ हाम्रा यात्राका सरसामान बोक्नका लागि भरियाहरू कुरिरहनुभएको थियो।
३ घण्टाको उकाली ओराली गर्दै हामी रैमाको डाँडा उक्लियौं। त्यहाँ त वडाअध्यक्षलगायत स्थानीय आमा समूहहरू बाजागाजा बजाउँदै हामीलाई स्वागत गर्न पो आइपुग्नुभयो। यो हाम्रा लागि आशै नगरिएको सत्कार थियो। यात्रालाई त्यसले झन् साहस दियो। रैमा गाउँ पुग्दा विकास पुनलगायत अरु साथीहरू पनि भेटिनुभयो। गाउँमा रमाइलो पनि भयो। हाम्रै टोलीमा अठार मगरात मौलिक संस्कृतिविद तिलक रोका मगर हुनुहुन्थ्यो। त्यो रात हामी त्यही गाउँमा बस्यौं। आमा समूहको सक्रियतामा गाउँको विकास समृद्धिको बाटोमा बढ्दैरहेछ। गाउँमा जुवातास, जाँडरक्सी अनि क्यारेमबोर्डहरू बन्देज गरिएको रहेछ। त्यो आमा समूहकै कमाल थियो।
‘सुनदह’को सुन्दरता हेर्न आतुर २१ जनाको हाम्रो समूह अनि ७ जना भरिया र ८ जना स्थानीयको जम्बो टोली बिहान करिब ८ बजेतिर फटाफट अघि बढ्दै थियौं। दिनभरि निकै भारी वर्षा भयो। उसैपनि उकालो ओरालोको तापले भारी भएको ज्यान हामीले बेलुकीपख फोर्सामा बिसायौं। केही बेरमै भाई दिलचनले सबै व्यवस्थापन गरे। एउटा ठूलो गोठ र स्थानीयका घरमा हामीले त्यो रात बितायौं।
बिहानै फेरि यात्रा सुरु भयो। यो जंगलको बाटो हो। उकालो अनि ओरालो त उस्तै हो। निगालाको यो जंगल खासगरी रेडपाण्डाहरूको वासस्थान पनि हो। कस्तुरी अनि नाउर र झारलहरू पनि यहाँ धेरै नै पाइन्छन्। बाटोभरि जुकासँगै भारी संघर्ष गर्दै गर्दै दिउँसोपख लगभग ३ हजार ८०० मिटर उचाईं रहेको छेंडामा पुगेर खाना खायौं।
फेरि पानी सिसिमाउन थाल्यो। तर यात्रा रोकिएन। पाटनका हरिया गलैंचाहरू हाम्रा स्वागतका लागि लतमन्न लाग्थे। केही साथीहरूलाई अति गाह्रो पनि भयो। केही हिँड्नै नसक्ने अवस्थामा पुग्नुभयो। तिलक रोका दाईले त ‘म अब सक्दिनँ, तपाईंहरू जानूस्’ भनेपछि त मुटुमा ढ्याङ्ग्रो ठटाएजस्तै भयो।
सुनदह पुग्ने बेलामा डम्मै कुहिरो थियो। थाकेका हामी तखतरान थियौं। हाम्रा सञ्चारका सेटहरू(वाकीटकी) पनि काम नगर्ने भइसकेका थिए। हाम्रा साथीहरू झन आत्तिएजस्तो देखिनुभयो। केही साथीहरू अघि नै पुगिसक्नुभएको थियो। तर हामी पुग्नुपर्ने लोकेशन पत्ता लगाउनै गाह्रो भयो। पछि बल्लतल्ल त्यहाँ पुग्यौं। तर दुखद कुरा हाम्रो समूहका ३ जना बहिनी र वडाअध्यक्षज्यू अनि उहाँकी श्रीमतिलाई एउटा ओडारमा छोडेर हामी हिँड्नुपरेको थियो।
तालको छेउमा पुग्दा दिलचन भाइले सबै टेन्ट लगायत अन्य बन्दोवस्त मिलाइसकेको रहेछन्। तातो पानी र कफी खाइसकेपछि अलि कति ज्यान तंग्रियो र सबैजना साथीहरूको जानकारी लिइयो। त्यहाँ पुगेकी एकजना बहिनी पनि बिरामी भएकी रहिछन्।
सुनदह रन्मा क्षेत्र अनि डोल्पानीहरूका लागि पवित्र कुण्ड पनि हो। जो एक शक्तिपीठ बराहका रुपमा पुजिन्छ। त्यसैले त्यो पवित्र कुण्डभन्दा हामी १०० मिटर टाढा टेन्ट लगाएर बिश्राम गरेका थियौं।
यहाँ बेस्सरी हावा पनि चल्दो रहेछ। हाम्रा २ वटा टेन्टहरू नै उडाइदियो। तर बिहानपख उठेर सुनदहको सुन्दरताले हाम्रो यात्राका सारा थकानहरू एक सासमा हुर्र लगिदियो।
सुनदहका बारेमा अनेक किस्साहरू पनि छन्। त्यस्तै ‘साइकोलोजी’ हाम्रा साथीहरूमा पनि देखियो। त्यहाँ भेंडाको बलि दिइन्छ। केही साथीहरू बिमारजस्तो हुनुभयो त्यो त्यही बलि नदिएका कारण हो भन्ने कुराहरू पनि आए। तर हामी हामी सुन दहको सुन्दरतामा लोभिइरह्यौं।
लामो कठिन तर रोमाञ्चक यात्रा अनि सुनदहको काखमा बिताएका २ रात र दिनहरू जीवनमा कहिल्यै नबिर्सने क्षण हुन्।
पूर्वी रुकुमको एउटा कुनामा लुकेर बसेको सुनदहको सुन्दरता अब सारा संसारलाई देखाउन लागौं यसमा हामी सबैले हातेमालो गरौं।