थासाङमा हिमपहिरो: ध्यान बसेका लामाले जोगाए गाउँले (भिडियाे)

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ।

धौलागिरी हिमश्रृङ्खलामा शुक्रबार हिमपहिरो जाँदा त्यसबाट बग्ने एउटा खोला थुनिएको छ। मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको माथिल्लो तटीय क्षेत्रमा माथि हिमपहिरो खसेको स्थानीयले जनाएका छन्।

वडा नं २ कोवाङ क्षेत्र भएर बग्ने यो खोलाको तल्लो तटीय क्षेत्रमा रहेका करिब एक दर्जन परिवार सुरक्षित स्थानमा लगिएको छ। यहाँका वडाध्यक्ष तथा थासाङ गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार धौलागिरी हिमश्रृङ्खलाको हिउँ पग्लेर बग्ने यो बोक्से खोलाको बहाव लगभग थुनिएको छ।

यसअघि पनि २०७८ साल कात्तिक २८ गते यो खोलामा ठूलै बाढी आएको थियो। त्योबेला मानवीय क्षति त भएन तर ठूलै भौतिक सम्पत्तिको क्षति भएको थियो। उनले आफ्नो जीवन कालमा सबैभन्दा ठूलो बाढी देखेको पनि बताए।

उनका अनुसार केही दिनयता त्यहाँ वर्षा भइरहेको थियो। मुस्ताङका सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पनि हो याे। खासगरी हिउँ पग्लेर बाह्रैमास बग्ने यो खोलामा अरु खहरेहरू पनि मिसिन्छन् र झन ठूलो बाढी आउँछ।

खासगरी हिमालपारिको जिल्ला भनेर चिनिने यो मुस्ताङमा निकै कम पानी पर्छ। तर धौलागिरी हिमालको छेउमै रहेको कोवाङ क्षेत्रमा भने धेरै पानी पर्छ। धौलागिरी वेशक्याम्प यही क्षेत्रमा पर्छ।

उनका अनुसार हिमालको छेउमा बौद्ध धर्मावलम्बीहरूको धार्मिक क्षेत्र छ। त्यहाँ रहेको एउटा गुफामा एकजना ‘सिक्किमे’ लामा लामो समयदेखि ध्यान गरेर बसिरहेका छन्। उनैले गाउँका मानिसलाई खोला थुनिएकोबारे जानकारी दिएका थिए।

‘यसबारे हामी कसैलाई जानकारी थिएन। दिउँसोतिर खोला थुनिएको रहेछ। केही धमिलो र लेदोसहितको पानी पनि बग्न थाल्यो। हिमपहिरो गएको नजिकै एउटा गुफामा ध्यान गरेर बस्ने लामाले त्यो थाहा पाएछन् र वरिपरिकालाई खबर गरिदिए’, वडाध्यक्ष शेरचनले भने, ‘दिउँसोको समय थियो। हामी माथि पुगेर हेर्दा पहिराले खोला थुनिएको देख्यौँ।’

उनका अनुसार खोलाको बहाव क्षेत्र बाक्लो बस्तीदेखि धेरै टाढा छ। छेउछाउमा रहेका केही परिवारलाई भने सुरक्षित स्थानमा लगिएको उनले बताए। हिमपहिराे थुप्रिएकाे चरिचरन क्षेत्र हाे। चरिचरनका लागि गएकाहरू र त्याे क्षेत्रमा पद यात्रामा निस्किएकाहरूलाई पनि सुरक्षित हुन भनिएकाे छ। शेरचनका अनुसार तटीय क्षेत्र वरिपरि प्रहरीहरू पनि परिचालन गरिएकाे छ।

उनका अनुसार केही वर्षयता हिमश्रृङ्खलाहरूमा निकै कम हिउँ छ। त्यसमा पनि अहिले तापक्रम बढिरहेको छ। तर बाह्रैमास हिउँ पग्लिरहन्छ।

‘अहिले हिउँ नै परेको छैन। अलिअलि भएको पनि पग्लिन थालेको छ। वैशाखमा पनि हिउँ पग्लिएर बाढी आउँछ। हिउँदमा पनि कहिलेकाहीँ त हिउँ पग्लिएर बाढी आएको हामीले थाहा पाएका छौँ’, उनले भने।

थासाङ–२ कोवाङ कालीगण्की खोलाको किनारामा अवस्थित वडा हो। यस वडामा थकाली जातजाति सँगै अरू अन्य जातिका मानिसहरू पनि बसोबास गर्दछन्।

कोवाङमा पुरुष ३१५ र महिला ३०१ गरी कुल जनसङ्ख्या ६१६ रहेका छन्। यस वडामा १५२ घरधुरी रहेका छन्। यस क्षेत्रमा प्रहरी चाैकी र प्रहरी चेक पाेष्ट रहेकाे छ।

प्रकाशित मिति: : 2024-08-23 16:34:00

प्रतिकृया दिनुहोस्