महिलाहरुले स्थापना गरेर उनीहरुकै नेतृत्व र सकृयतामा सञ्चालित पश्चिम नेपालकै पुरानो संस्था नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले भाद्र ३ गते आफ्नो ३१औँ वार्षिकोत्सव मनायो। मानसिक स्वास्थ्य, महिला अधिकार, बालिका शिक्षा, महिला स्वरोजगार र मानवीय सहयोगमा क्रियाशील उक्त संस्थाले हाल दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटमा विभिन्न परियोजना र सामूहिक अभियानहरुसमेत सञ्चालन गरिरहेको छ।
द्वन्द्वका समयमा विस्थापित भएर भारतका सहर जान तयार भएका महिला र बालबालिकालाई सुरक्षित तरिकाले गाउँमै राख्नुपर्छ भन्दै अभियान सुरु गरेका उतिबेलाका किशोरीहरुले जन्माएको नेपाल महिला सामुदायिक सेवा केन्द्र यतिबेला महिलाहरुको सारथी बनेर उभिएको छ।
स्थानिय सामाजिक अभियन्ता बिमला योगीको अग्रसरतामा सुरु गरिएका धेरै अभियानहरु यो क्षेत्रमा चर्चामा पनि छन्। तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका समयमा अनेकन प्रताडनामा परेका महिलाका लागि मानसिक स्वास्थ्यमा काम गरिरहेको संस्थाले हरेक वर्ष जेहेन्दार र समस्यामा परेका बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने गर्दछ।
वार्षिक करिब ६ सय बालबालिकालाई भर्ना शुल्क, पोषाक, शैक्षिक सामाग्री वितरण गर्ने गरिएको छ। ७ जना महिला सञ्चालक समिति र ५० जना साधारण सदस्य रहेका नेपाल महिला सामुदायिक सेवा केन्द्रमा यतिबेला विभिन्न परियोजना र अभियानमा १ सय बढी कर्मचारीहरु कार्यरत छन्।
बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम र सशक्तिकरणकालागि शिक्षा कार्यक्रम अन्र्तगत उक्त अभियान सञ्चालन गरिएको हो। माओवादी सशस्त्र द्वन्द्वका द्वन्द्वपीडित महिलासँग मानसिक स्वास्थ्यमा र दीगो जीविकोपार्जनमा परियोजना समेत सञ्चालन गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले महिलाविरुद्ध हुने सबै खालको हिंसा निवारणमा पनि काम गरिरहेको छ।
वार्षिकोत्सवको मुख्य अतिथिका रुपमा निम्त्याइएकी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापनाकालदेखि नै महिला र बालबालिकाको क्षेत्रमा अतुलनीय कार्य गरेको स्मरण गरिन्। हिजो पीडाका बेलामा यही संस्थाको काखमा रोएको सम्झिँदै उनले धेरै महिलाको आँशु पुछेकोसम्मका घटना सुनाइन्।
उनले महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण नेपाल महिला सामुदायिक सेवा केन्द्र भएको बताइन्। यो संस्थाले हाम्रो कामलाई सपोर्ट पुग्ने गरी काम गरिहेको छ।
कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको काम र कार्यक्रम सराहनीय भएको बताए। उनले आफूले नजिकबाट संस्थाका गतिविधि नियालेको बताउँदै महिला र बालबालिकाका क्षेत्रमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेका कामको अरुले सिको गर्नुपर्ने बताए।
उनीजस्तै महिला मानव अधिकार सञ्जालका अध्यक्ष अनिता पाख्रले, अग्रज पत्रकार लक्ष्मी आर्चाय, बसुन्धरा गौतमले पनि संस्थाका गतिविधिको खुलेर प्रशंसा गरेका थिए।
गैरसरकारी संस्थाप्रति आम रुपमा हेर्ने नजर नकारात्मक बनेको अवस्थामा पनि आफूले संस्थाको छवि यथावत राखेका बताउँदै संस्थापक अध्यक्ष बिमला योगीले आगामी दिनमा पनि निरन्तर महिला र बालबालिकाको क्षेत्रमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता गरिन्। स्थापनादेखि नै महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउँदै छोरी पढाउ, छोरी बचाउ मुख्य अभियान रहेको बताइनन्।
जनप्रतिनिधि, पत्रकार तथा महिला मानव अधिकारकर्मीलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा घोराहीस्थित आफ्नै भवनमा रक्तदान कार्यक्रमको आयोजनासमेत गरेको थियो। ३१औँ स्थापना दिवसको अवसरमा विभिन्न ३१ जनाले रक्तदान गरेका थिए।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापनाकालदेखि नै हरेक वर्ष रक्तदान कार्यक्रम गर्न थालेको अध्यक्ष कल्पना न्योपानेले बताइन्। संस्थाले स्थापना दिवसकै अवसर पारेर दाङ नारायणपुरस्थित मानव सेवा घरमा रहेका ४० जना बेसहाराहरुलाई खाना खुवाउनुका साथै खाद्य सामाग्री पनि सहयोग गरेको थियो।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले बालिका शिक्षा अभियान, बालबालिका महिला तथा युवा विकास, उद्यमशीलतामार्फत दीगो जीविकोपार्जन, महिलाविरुद्ध हुन सबै खालको हिंसा निवारण, वातावरण संरक्षण तथा जलवायु अनुकूलन, सुशासन र संचार प्रविधि उपयोग, मानवीय सहयोग जस्ता ७ विषयवस्तुमा आधारित रहेर आफ्ना अभियान सञ्चालन गर्दछ।
अहिले संस्थाले लैङ्गिक न्यायप्रतिको उत्तरदायित्व, नेतृत्वमा समुदाय, दोस्रो राष्ट्रिय कार्ययोजना, सामुदायिक सुरक्षा जालो, कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना, बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम, सशक्तिकरणका लागि शिक्षा कार्यक्रम, महिला स्वरोजगार तालिम केन्द्र, हरियो बजार जस्ता परियोजना र अभियान सञ्चालन गरिरहेको छ।
पछिल्लो समय धेरै गैरसरकारी संस्थाहरुले परियोजना मात्र सञ्चालन गर्ने गरिरहेको समयमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले आफ्नो फरक पहिचान बनाएको छ। परियोजना हुँदा होस् वा नहुँदा यसले बालिका शिक्षा र महिला अधिकारका अभियानहरु निरन्तर सञ्चालन गरिरहेको छ। आगामी दिनमा थप उचाईको कामनासहित सुखद भविष्यको शुभकामना !