बालबालिकालाई दुर्व्यसनीबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण

शनि शाक्य

काठमाडाैं
Break n Links
Break n Links

ललितपुरमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दो छ। आर्थिक वर्ष २०७९/८०मा लागुऔषधसम्बन्धी ५४ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८०/८१मा त्यो संख्या दोब्बरले बढेर १०६ पुगेको छ। त्यसमा पनि टिन-एजर्स् (१३ देखि १९ वर्ष उमेर समूह) बढी रहेको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बालबालिकाहरुलाई साथी-भाइको संगत, पारिवारिक भूमिकाको कमी, कानुनी ज्ञानको कमी र विभिन्न किसिमका संस्कृतिहरुको नक्कल गर्ने प्रवृत्तिले लागुऔषध दुर्व्यवनीमा प्रेरित गरिरहेको पाइएको छ।

उनीहरुले गाँजा, चरेस, हिरोइनसँग ट्याब्लेट र इन्जेक्सनयुक्त लागुऔषधिहरु प्रयोग गर्ने गर्छन्।

औषधि पसलरुले चिकित्सकको प्रेस्किप्सनबिना नशालु औषधि बेच्दा जोखिम बढेको छ। ‘अहिले त स्थानीय मेडिकलहरुमा पनि प्रतिबन्धित लागुऔषधहरु पनि भेटिन थालेका छन्। मेडिकलले डाक्टरको प्रेसकिप्सनबिना त्यस्ता औषधिहरु बेच्ने गरेका छन्। लागुऔषधसँग सम्बन्धित औषधि गलत तरिकाले प्रयोग गर्दाखेरि विभिन्न किसिमका घटनाहरु पनि घटेको देखिन्छ’, उनले भने।

लागुऔषध दुर्व्यसनीका कारण समाज हत्या, हिंसा, जबर्जस्तीकरणी र पारिवारिक समस्या निम्तिने गरेको छ। यस्तो अवस्था निरन्तर चलिरहे बिकराल अवस्था आउन सक्ने चेतावनी प्रहरीको छ।

‘हामीले कोसिस गरिरहँदा पनि समाजमा अझ लागुऔषध दुर्व्यसनी बढेको पाइएको छ। यसबाट भोलि समाजमा एउटा बिकराल अवस्था नआओस् भन्नका लागि आजदेखि नै हामीहरु चनाखो हुन जरुरी छ’, उनले भने।

स्थानीय निकाय, राज्यका अन्य निकायहरु, परिवारका अभिभावकहरु, विद्यालयका शिक्षकहरुले र हरेक नागरिक समाजहरु लागुऔषध दुर्व्यसनीविरुद्ध सचेत भएर लाग्न सकियो भने आफ्नो टोल छिमेकमा त्यस्ता दुर्व्यसनीमा फसेकाहरुमाथि निगरानी राख्ने त्यस्ता व्यक्ति वा युवालाई देखियो भने तुरुन्त प्रहरीलाई जानकारी गराएर कानूनी कारबाहीमा ल्याउने बानीको विकास भयो भने समाजमा शान्ति सुरक्षा कायम राख्न सजिलो हुन्छ।

विद्यालयमा शिक्षकहरुले विद्यार्थीको निगरानी गर्नुपर्ने र घरमा अभिभावकले पनि आफ्ना बालबाच्चाहरुले कस्तो किसिमको दैनिकी निर्वाह गरिरहेका छन् भन्ने कुरालाई पनि बुझ्नुपर्छ।

‘पहिलो पाठशाला भनेको परिवार नै हो। परिवारमा आफ्ना बालबच्चाहरुलाई निगरानी गर्ने परिपाटि भयो। आफ्ना बालबच्चाको दिनचर्यलाई मोनिटरिङ गर्ने प्रणाली विकास भयो भने निश्चय पनि अभिभावकसँग आफ्ना बालबाच्चाहरु डराउने हुन्छ’, एसपी सुवेदीले भने।

उनले अगाडि भन्छन्, ‘तर, अहिले आफ्नो बच्चाले के गरिरहेको छ? कुन किसिमको संगतमा लागिरहेको छ? विद्यालयमा गएर पढ्छ कि पढ्दैन? विद्यालयको रेकर्डहरु कस्तो छ? सुधार कस्तो छ? त्यो पनि अभिभावकहरुले नहेरेको देखिन्छ’ उनले भने।

यसरी खुल्लारुपमा बालबालिकाहरुलाई छोड्दिँदा कूलतमा फस्न सम्भावनाहरु देखिन्छ। त्यसकारण सबैभन्दा ठुलो भूमिका परिवारको नै हो। परिवारले आफ्ना बालबालिकाहरुमाथि विशेष निगरानी गर्नुपर्ने देखिन्छ।

भिडियाे:

प्रकाशित मिति: : 2024-08-16 19:51:00

प्रतिकृया दिनुहोस्