नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि आफ्ना कार्यकर्ताहरूसँग भनेका थिए ‘उमेरले कति दिन दिन्छ, अब छोडिदिनुपर्छ भनेर भनेका छन्। तर म छोड्नेवाला छैनँ, माओत्सेतुङले ७२ वर्षको उमेरमा सांस्कृतिक क्रान्ति गरेका थिए, म पनि फेरि एकपटक क्रान्तिमा अगाडि जानेछु…।’
जे भने पनि वा जे भए पनि जे गरे पनि एउटा सत्य कुरा के हो प्रचण्डले पार्टीको नेतृत्व अहिले नै वा यत्तिकै छोड्नेवाला छैनन्, चाहे माओवादीभित्र जतिसुकै ‘जनार्दन’हरू किन नजन्मिउन्।
सत्ता गुमाएपछि पार्टीका केन्द्रीय पदाधिकारीहरूलाई बोलाएर मन्थनमा जुटेका प्रचण्डले फेरि पार्टीका उपमहासचिव जनार्दन शर्माको सामना गर्नुपरेको छ। २०७९ सालको चुनावलगत्तै प्रधानमन्त्री भएपछि पनि उनले केन्द्रीय समितिको बैठक बोलाएका थिए र त्यहाँ पनि जनार्दनले यसैगरी पीडाहरू ओकलेका थिए। त्योबेला र अहिले पनि मनका ‘भडास’हरू पोख्दै जनर्दनले फेरि भनेका छन् ‘पार्टी सक्किन लाग्यो, नेतृत्व छोड्नुस्…।’
तर प्रचण्डले कति सजिलै भनिदिएका छन्, ‘टेन्सन छैन, सबै कुरा मिल्दै जान्छन्…’ बरु उनले प्रश्न सोध्न पत्रकारलाई नै भनिदिए ‘टेन्सन त तपाईंहरूलाई पो छ…।’
एउटा सत्यचाहिँ के हो भने प्रचण्डले भनेजस्तै नेतृत्व छोड्नैपर्ने ‘टेन्सन’ माओवादीभित्र छैन। जसरी सञ्चारमाध्यमहरूमा जनार्दन शर्माका प्रस्तावहरू ठूल्ठुला ‘हेडलाइन’हरू बनेर छाए त्योभन्दा कैयौँ गुणा निस्फिक्री भएर प्रचण्डले केन्द्रीय समितिको बैठक सामना गरिरहेका छन्।
‘त्यस्ता प्रस्तावहरू त आइरहन्छन् नि। त्यत्ति भएन भने पार्टी अनि नेतृत्व कसरी एक्टिभ हुन्छ?’, जनार्दनको प्रस्तावबारे प्रचण्डको प्रतिक्रियाबारे एकजना पदाधिकारी भन्छन्, ‘त्यो केही होइन। हुनेवाला पनि केही छैन…। अध्यक्षज्यूले त्यसलाई सकारात्मकरुपमा लिनुभएको छ र बरु अझ सक्रिय भएर लाग्ने भन्नुभएको छ।’
उनका अनुसार हरेक पार्टीभित्र यस्ता पात्र र प्रवृत्तिहरू हुन्छन्। चाहे त्यो माओवादी होस् वा एमाले। नेपाली काँग्रेस होस् कि एकीकृत समाजवादी वा रास्वपा होस् वा जसपा, राप्रपाहरू र नागरिक उन्मुक्तिहरू। नयाँ पुराना सबैमा ‘भीम रावल’ प्रवृत्ति छन्। पात्र भलै फरक किन नहोस्।
आफूले भनेजस्तै राजनीतिमा सब कुरा ‘मिलाउन’सक्ने माहिर नेता हुन् प्रचण्ड। ‘जनयुद्ध’को सुरुवातदेखि सिंहदरबारको यात्रारम्भ र त्यसपछिका हरेक राजनीतिक माहोलमा प्रचण्ड आफू पनि घुल्दै आएका छन्। अनि पार्टीलाई पनि ‘मिलाउँदै’ आएका छन्। टुक्रिएका, छुट्टिएका अनि छुटेकाहरूलाई पनि मिलाउन जानेका छन्।
संसदीय राजनीतिको पहिलो पाइलामा संविधानसभाको पहिलो चुनाव सामना गर्दा पाएको त्यो ‘अद्भूत’ मतले उद्देलित प्रचण्ड त्यसको हावामा यतिसम्म उडे कि अहिले ‘३२’ सिटे भाष्य निर्माणसम्म आइपुग्दा पनि उनी रमिरहेका छन्। अर्थात् मिलाइरहेका छन्, कहिले नेकपा एमाले त कहिले नेपाली काँग्रेस। अनि कहिले रास्वपा र राप्रपाहरू। ‘जादूयी करिश्मा’ भएका प्रचण्ड राजनीतिमा त्यसै टिकेका होइनन्, नत्र एउटै पार्टीको नेतृत्वमा ३६ वर्ष राइदाइँ गरिरहनु चानचुने कुरो होइन।
प्रचण्ड: बदलिन्छन् कि नेतृत्व छोड्छन्?
‘यो दुबै कुरा प्रचण्डबाट सम्भव छैन। न उहाँले आफूलाई बदल्न चाहनुहुन्छ न नेतृत्व हस्तान्तरण गर्न नै’, एकजना केन्द्रीय सदस्य भन्छन्, ‘ल अहिले मानौँ उहाँले नेतृत्व हस्तान्तरणको प्रस्ताव स्वीकार गर्नुभयो रे, अनि लोकतान्त्रिक विधिमा जाँदा नेतृत्वका लागि चुनाव भयो रे, भोट त सबै प्रचण्डलाई नै जाने हो…।’
पेरिस डाँडामा जारी केन्द्रीय समितिको बैठकमा जनार्दनले पार्टी नेतृत्व र प्रचण्डलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर तीनवटा सुझावहरू पेश गरेका छन्। उनका अनुसार पहिलो त अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहिति सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्नुपर्छ।
दोस्रो- अध्यक्ष प्रचण्डले संरक्षकको भुमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्न स्कुलिङ प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने र तेस्रो- हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी तोक्ने।
सरसर्ती जनार्दनका यी प्रस्तावहरू पढ्दा उनले नेतृत्व हस्तान्तरणको कुरा उठाएकोजस्तो देखिन्छ। वा क्रान्तिकारी भाषामा भन्दा उनले प्रचण्डलाई हटाएर माओवादीमा नयाँ नेतृत्व चाहिन्छ भनेकोजस्तो देखिन्छ। तर सारमा जनार्दनले भनेको पनि त्यही हो- प्रचण्ड नवीकरण। सँगै जनार्दनले भनेका छन्, ‘यस प्रस्तावलाई कुनै आग्रह पूर्वाग्रहको रुपमा नलिइ पार्टी निर्माणको लागि गरिएको बहसका विषयका रुपमा ग्रहण गरिनेछ भन्ने विश्वास लिएको छु’ त्यसैले त प्रचण्ड भनिरहेछन्, ‘केही टेन्सन छैन…।’
जनार्दनलाई पनि डर त छ कतै ‘भीम रावल’ नै भइन्छ कि। अथवा फेरि ‘पार्टी फुटाउन लाग्यो’ भनेर अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै भनिदिन्छन् कि। यसअघि पनि भएको त यस्तै थियो। केही प्रश्न र प्रस्तावहरू राख्दा उल्टै प्रचण्डले भनिदिए, ‘जनार्दन त एमालेमा प्रवेश गर्न लागिसके…।’ त्यो कुरा प्रचण्डले खुमलटारबाटै प्रचार गरेका थिए र पछि प्रधानमन्त्री भएर बालुवाटार सरेपछि त्यसलाई झन स्थापित गर्न लागे। पार्टीमा कार्यकारी भूमिका खोजिरहेका वर्षमान पुनलाई साइजमा ल्याउनका लागि उनलाई पनि प्रचण्डले त्यही लाञ्छनाले शान्त पारिदिए।
‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटारमा पुगेपछि तीव्रता दिइयो। उक्त प्रचारबाजीलाई उदत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो’, प्रस्ताव-प्रतिवेदन नै सही त्यसमा जनार्दनले मनको वह पोखेका छन्, ‘देशभर यसको असर देखा पर्न थाल्यो। फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आम आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ…।’
यो प्रचण्ड प्रवृत्ति हो। यसलाई उनले राम्रैसँग बुझेका छन्। कुनैबेला सँगै बन्दुक बोकेका अनि युद्धका मोर्दा र मैदानहरूमा सँगै खटिएका समकालीनहरूलाई कसरी ‘व्यवस्थापन’ भन्ने प्रचण्डलाई राम्ररी थाहा छ। र, त्यसका लागि माओवादीभित्र धेरै विकल्पहरू भने छैनन्। या त प्रचण्डले नै भनेअनुसार चल्नुपर्यो या त बैद्य अनि बाबुराम र बादल अनि विप्लवहरूजस्तै छोडेर हिँड्नुपर्यो। यसअघिको बैठकमै जनार्दनको रोनाधोना सुनिएकै हो ‘अध्यक्षज्यूले जे गर् भन्नुभयो त्यही गरेको हुँ, एमालेसँग यो भन्नू भयो त्यही भनेँ। काँग्रसलाई यो भन्नू भन्नुभयो त्यही भनेँ। पार्टीको बैठकमा यस्तो भन्नुभयो त्यही भनेँ। जसो जसो गर् भन्यो त्यही गर्दागर्दै यो आरोप खेप्नुपरेको छ…।’
यो भनेको जनार्दनले भनेजस्तै प्रचण्ड प्रवृत्ति हो। प्रचण्ड जवाफहरूको खास र ठोस जवाफ कहिल्यै दिँदैनन्। बरु कार्यकर्तामाझ कहिले भावुक भइदिन्छन्, कहिले उत्तेजित बनाइदिन्छन्। प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आमपङ्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने प्रचण्ड प्रवृत्ति नै हो। ‘यसमा ससाना अन्तर्विरोध समाधान गर्न झन् ठूलो अन्तर्विरोध सिर्जना गरिदिनूपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ’ जनार्दनले भनिरहेकै छन्।
यसलाई उनले अझ यसरी प्रस्ट पारेका छन्- ‘चार दशक लामो नेतृत्वप्रतिको सम्मान, विश्वास र सहकार्यको आधारमा मैले प्राप्त गरेका सबै सूचनाको जानकारी, कामको रिपोर्टिङ र अनुमति लिइरहेको छु। तर मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पार्टी पङ्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी चल्छ? यसबारे गम्भीर समीक्षा हुनुपर्छ’ प्रचण्ड प्रवृत्तिको यो जनार्दनको आफ्नै आत्मस्वीकारोक्ति हो।
माओवादी कहाँ छ?
अब माओवादी प्रचण्डसँगमात्रै छ। अनि उनीसँग हुँदासम्म मात्रै माओवादी हुनेछ वा रहनेछ। अनि अब माओवादीमा प्रचण्डमात्रै छन् अनि प्रचण्डसँग माओवादीमात्रै छ। अरु कोही छैनन्। जनयुद्ध छैन। क्रान्ति छैन। कान्ति छैन। शान्ति छैन। न जनयुद्धका सारथीहरू छन्। न सिंहदरबार यात्राका सहयात्रीहरू छन्। न उनलाई पाइला पाइलामा साथ दिने उनका परिवार छन्। त्यसैले प्रचण्डले यसअघि नै भनिसकेका थिए ‘कार्यकर्ताको विशाल पङ्ति छ तर माओवादीसँग आज कोही छैन’, उनले भनेजस्तै अब माओवादीको नियति यही नै हो। उनले भनेजस्तो न अब कार्यकर्ताको त्यो विशाल पङ्ति हुनेछ न मत वा अभिमतहरू।
‘आज हामीसँग न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धिबाहेक न कुनै देखाउन लायक कामहरु छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ। हाम्रा एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन’, जनार्दनले त्यसै भनेका होइनन्, ‘२०६४ सालको चुनावका वेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्। हामी शुन्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौँ।’
हो, जनार्दनले भनेजस्तै अब माओवादीसँग जो छन् र जति छन् तीसँग असन्तुष्टिबाहेक अर्थोक केही छैन। माओवादी प्रचण्डसम्मै र प्रचण्ड माओवादीसम्मै हुनेछन् र उनी बाँचेसम्म यही नै हुनेछ। अनि जनार्दनहरू यसैगरी गनगनाइरहनेछन्।