दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ।

विभिन्न प्रश्न उठाउँदै एफसीले  केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनौटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र  नेपालको चर्चब्वाईज युनाईटेडबीच खेल हुने भएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा नै २०८० चैत ८ गते  आयोजना हुनुपर्ने  वर्ल्डकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बहराईनबीचको क्वाईलिफाईङ खेल बहराईनमा भएको थियो भने जेठ २४ गते यूएईसंगको खेल साउदीमा भएको थियो।

लामो समयदेखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैतदेखि परिषद् आफैंले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गरेका थिए।

मैदानले एसफसीबाट पुन मान्यता पाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए। उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अव कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति: : 2024-08-08 18:44:00

प्रतिकृया दिनुहोस्