प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन्।
आइतबार केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।
उनले एमालेमा पनि लामोसमय गुटबन्दी भएकाेले विभाजन भएकाे बताए।
‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्। पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो। हाम्रो पार्टीमा पनि लामो समय गुटबन्दी थियो। त्यही कारण विभाजन पनि भयो। अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, प्रधानमन्त्री ओलीले भने।
उनले आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने दाबी गरे।
गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।
अध्यक्ष ओलीले नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यलाई आइतबार शपथ गराएका हुन्।