सुदूरपश्चिम: भतिजालाई राेकेर देउवाले मुख्यमन्त्रीमा शाहलाई अघि सारे

सुदूरपश्चिम प्रदेशमा आइतबार नयाँ सरकार गठन हुँदैछ।

गत शुक्रबार नेकपा (एकिकृत समाजवादी)बाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका छन्।

गत असार १७ गते संघमा संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमनलेले सत्ता सहकार्य गर्ने निर्णय गरेसँगै सोडारी अल्पमतमा परेका थिए।

कांग्रेस–एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुसार नेपाली कांग्रेसले आज दाबी पेस गर्न लागेको बताइएको छ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन्। यी दुई दलमात्रै मिल्दा पनि बहुमत पुग्छ। आज साँझसम्म यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने शूत्रले जनाएको छ।

मुख्यमन्त्रीका लागि कांग्रेसभित्र हानथाप चलेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा र बहादुर सिंह थापाले दाबी गरेका छन्। यद्यपि, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशन दिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरिसकेको बताइएको छ।

नेपाली कांग्रेसले यसको औपचारिक निर्णय गर्न बिहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको छ।

उक्त बैठकमा मुख्यमन्त्री को बन्ने र नवगठित सरकारमा सहभागि हुने मन्त्रीहरुको समेत टुंगो लगाउने बताइएको छ।

यता एमालेले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्न बाँकी छ। त्यसैगरी अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा सहभागि हुने बताइएको छ।

अस्थिर सुदूरपश्चिमको चौंथो सरकार

वि.स. २०७४ सालको निर्वाचनपछि नेकपा मओवादी केन्द्रका त्रिलोचन भट्टले पूरै कार्यकाल मुख्यमन्त्री चलाएका थिए। तर, अहिले २०७९को निर्वाचनपछि दुई वर्षको अवधिमा योसहित चार सरकार गठन भइसके।

२०७९ पौष २७ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए। रावल सरकार एक महिनाभन्दा बढी टिक्न सकेन। उनले विश्वासको मत नपाएपछि सरकार ढल्यो।

त्यसपछि ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री बने।

यता केन्द्रमा फेरि राजनीतिक फेरियो। कांग्रेस बाहिरिएर एमाले भित्रिँदा यता प्रदेशका काँग्रेसका मुख्यमन्त्री पद जोखिममा परेको थियो। एमाले माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पनि एक महिनासम्म सरकार जोगाउने उनले ठुलै कसरत गरे।

त्यसपछि एकीकृत समाजवादीका दीर्घबहादुर साेडारी मुख्यमन्त्री बनेकाे थिए।

प्रकाशित मिति: : 2024-08-04 09:31:00

प्रतिकृया दिनुहोस्