सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।
बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।
सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठक बस्ने प्रदेशसभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ।
गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का २, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
तर, केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। कांग्रेस र एमालेबीचको सहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ।
५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा कांग्रेस र एमाले एक ठाउमा आउँदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ।
सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन्।