काठमाडौँ उपत्यकामा बाढी: ३६ जनाको उद्धार, बालकोटमा ७० भन्दा बढी घर डुबानमा

Break n Links
Break n Links

भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट जनजीवन प्रभावित भएको छ।

बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा फसेका ३६ जनाकाे उद्धार गरिएकाे छ। 

काठमाडौँबाट १२ र ललितपुरबाट २४ गरी ३६ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

डुबानमा परेको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ।

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

त्यसैगरी ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छ जनाको उद्धार गरिएको छ।

बाढीले भक्तपुरका समेत विभिन्न स्थान डुबानमा परेका छन्। सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्।

हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ। 

प्रकाशित मिति: : 2024-07-31 11:43:00

प्रतिकृया दिनुहोस्