परराष्ट्रमा परिणाममुखी कामको लय समाएकी मन्त्री आरजु

कुनैबेला भारतका दिवगंत विदेशमन्त्री सुष्मा स्वराज सामाजिक सञ्जालमा सक्रिय रहने गर्थिन्।

खासगरी विश्वभरि छरिएर भिसा र पासपोर्ट समस्या खेपिरहेका भारतीय नागरिकलाई परेका समस्याबारे स्वराज गम्भीर भएर रेस्पोन्स गर्थिन्।

सञ्जालमा भारतीय नागरिकले गरेका गुनासाहरुलाई उनी आफ्ना मातहतका निकायमार्फत र कतिपय अवस्थामा सोझैँ आफैँ समाधानका लागि अग्रसर रहन्थिन्।

यता नेपालमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सामाजिक सञ्जालमा निकै सक्रिय देखिने गर्छिन्। एक्स र फेसबुकमा मन्त्री डा.राणाले आफ्ना गतिवधि सार्वजनिक गरिरहेको देखिन्छ।

डा.आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्ति भइरहँदा उनका अगाडि वैदेशिक सम्बन्ध कसरी अगाडि बढाउने भन्ने चुनौती त छँदै छन् तर त्योभन्दा पनि ठूलो चुनौती थियो बंगलादेशबाट आफ्ना नागरिक कसरी सुरक्षित फर्काउने भन्ने पनि छ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भूमिका खेलेका व्यक्तिहरूका परिवारका सदस्यहरुलाई सरकारी सेवामा जागिरका लागि व्यवस्था गरिएको आरक्षणको विरोधले बंगलादेशमा सयौँको ज्यान गइसकेको छ। एसियाकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा रहेकी शेख हसिनालाई अहिले विद्यार्थी आन्दोलनले आच्छुआच्छु पारिरहेको छ।

बंगलादेशको आन्दोलन हिंस्रक र हताहती बढ्दा नेपाली विद्यार्थीहरूका विषयमा कसरी अघि बढ्ने भन्ने कुनै बाटाहरू तय गरिनसक्दै परराष्ट्रमन्त्री डा.राणा भर्खरै नियुक्त भएकी थिइन्।

परराष्ट्रमन्त्री डा. राणा र मन्न्रालयका सचिव सेवा लम्सालसहित बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी आफ्ना नागरिकलाई सुरक्षित नेपाल फर्काउने रणनीतिमा काम गरिरहेका छन्।

बंगलादेशमा करिब ३ हजार बढीको संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत रहेका छन्। तीमध्ये करिब १ हजार ३ सयभन्दा बढी नेपाली स्वदेश फर्काउन परराष्ट्रले गरेको प्रयास सफल देखिन्छ।

बुधबार मात्रै पनि हवाईमार्गबाट ११५ र बाँकी ३ सय ५ जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएकाे अध्यागमन विभागको तथ्यांकमा छ।

बंगलादेशमा गत जुन महिना अदालतकै आदेशको कारण आन्दोलन चर्किएको थियो। सन् २०१८ मा शेख हसिना वाजेद नेतृत्वको सरकारले त्यस्तो व्यवस्था खारेज गरिदिएको थियो।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विगत एक सातादेखि विरोध सुरु भएको थियो। बुधबार बिहानमात्रै ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनीहरुलाई परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले नै विमानस्थलमा रिसिभ गरेका थिए।

बंगलादेशको ढाकामा रहेको नेपाली दूतावासले नेपालीलाई तत्कालै कुनै सहयोग आवश्यक पर्दा सम्पर्क गर्न नम्बरहरु उपलब्ध गराएको छ। यी नम्बरहरुमा ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ फोन गर्न र आवश्यक सहयोग लिन अपील गरेको थियो। आफ्ना नागरिक सुरक्षित स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना पनि जारी गरेको छ।

आफ्ना नागरिक सुरक्षित फर्काउने मिसनमा परराष्ट्रमन्त्री डा.राणाले क्लोज मनिटरिङ्ग र कूटनीतिक प्रयास गरिरहेको बुझिएको छ।

अस्तव्यस्त भएको बंगलादेश जहाँ इन्टरनेट र मोबाइल फोन सुचारू नहुँदा आफ्ना नागरिकलाई स्वदेश फर्काउने 'मिसन' जटिल भएपनि परराष्ट्रमन्त्री डा.राणा र सचिव लम्सालको सक्रियताले नेपाली विद्यार्थी स्वदेश फर्किन सहज भइरहेको छ।

यसबीच नेपाल फर्किनेमध्ये १ सय १४ जना विद्यार्थीहरु भारत हुँदै काँकडभिट्टा सीमा भएर स्वदेश फर्किएका छन्।

परराष्ट्रमन्त्री भएलगत्तै विभिन्न देशका राजदूतहरुलाई नियमित भेटघाट र छलफलमा रहेकी मन्त्री डा.राणाले कूटनीतिक र राजनीतिक संयन्त्रको प्रयोग गर्दै बंगलादेशबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन गरेका प्रयसहरु निर्णायक भएका देखिन्छन्।

परराष्ट्र मन्त्रालयमा महिला मन्त्री र सचिवद्वयको क्यामेष्ट्रीले यतिबेला बंगलादेशबाट नेपाली विद्यार्थी स्वदेश फर्काउने काममा सफल भएको देख्न सकिन्छ।

पहिलो पटक मन्त्री भएकी राणाले मन्त्रालय सम्हालेलगत्तै भनेकी थिइन्, ‘भू-राजनीति पहिलेभन्दा भिन्न भएर गइरहेको हामी सबैलाई थाहा छ। यो भन्दा भन्दै योभन्दा पहिला पनि यस्तै अप्ठ्याराहरु नभएको होइन इतिहासमा। त्यस्तो समयमा पनि नेपालले आफ्नो स्वतन्त्रता, आफ्नो अडान राखेर देशको रुपमा बसेको भएर भविष्यमा पनि हामी यसरी नै जान सक्छौँ भन्ने मलाई विश्वास छ।’

यसैबीच बुधबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ परियोजना बीआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी थिइन्।

प्रकाशित मिति: : 2024-07-25 18:35:00

प्रतिकृया दिनुहोस्